
काठमाडौं । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानामगर सवार गाडी दुर्घटनामा पर्दा उनको उद्धार कार्य शनिबार साँझसम्म पनि सम्पन्न हुन सकेको छैन। भीरालो भूभागमा गाडी अड्किएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेका उपप्रमुख रानामगरले चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसाल क्षेत्रमा दुर्घटनामा परेको हो। दुर्घटना शनिबार बेलुकी करिब पौने ५ बजे भएको प्रारम्भिक जानकारी छ।
दुर्घटनापछि गाडी सडकबाट करिब ४०० मिटर तल भीरमा खसेर रुखमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। गाडी अप्ठ्यारो स्थानमा अड्किएकाले उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न र चालकलाई सुरक्षित निकाल्न समस्या भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गणेश ज्ञवालीका अनुसार उपप्रमुख रानामगर गाडीभित्र च्यापिएको अवस्थामा फेला परेका छन्। उद्धार टोलीले उनलाई बाहिर निकाल्ने प्रयास जारी राखेको भए पनि समाचार तयार पार्दासम्म सफल हुन सकेको थिएन।
प्रहरीका अनुसार घटनास्थलमा पुगेका उद्धारकर्मीले रानामगरबाट कुनै प्रतिक्रिया नआएको बताएका छन्। उनको स्वास्थ्य अवस्थाबारे भने अस्पताल पुर्याएर चिकित्सकीय परीक्षणपछि मात्रै यकिन हुने जनाइएको छ।
दुर्घटनाका बेला गाडीमा उपप्रमुख रानामगर मात्र सवार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटना कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। सडकको अवस्था, सवारीको प्राविधिक पक्ष तथा अन्य सम्भावित कारणबारे पनि अध्ययन भइरहेको प्रहरीको भनाइ छ।
घटनाको जानकारी पाएलगत्तै स्थानीयवासी, प्रहरी र अन्य सुरक्षा निकायका टोली घटनास्थलमा पुगेका छन्। भीरालो भूगोल र साँझ पर्न थालेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको जनाइएको छ।
मिनराज रानामगर २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट स्वर्गद्वारी नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएका थिए। दुर्घटनापछि उनको स्वास्थ्य अवस्थाबारे चासो बढेको छ भने स्थानीय तहका जनप्रतिनिधि तथा सर्वसाधारणले उद्धार कार्य शीघ्र सम्पन्न होस् भन्ने कामना गरेका छन्।









Facebook Comments