
नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौला पन्तले पार्टीको आगामी १५ औँ महाधिवेशन समयमै सम्पन्न गर्न पार्टी पंक्ति पूर्ण रूपमा केन्द्रित भएको बताएकी छन् ।
पार्टीको 'सदस्यता व्यवस्थापन केन्द्रीय समिति' को निर्णय र निर्देशन अनुसार देशव्यापी रूपमा सुरु गरिएको क्रियाशील सदस्यता वितरण अभियानका क्रममा तेह्रथुमको वसन्तपुरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
सहमहामन्त्री संग्रौलाले अब कांग्रेसभित्र कुनै पनि प्रकारको सांगठनिक दुविधा वा अन्योलको स्थिति रहन नहुने उल्लेख गर्दै सबै तहका नेता-कार्यकर्ता एकताबद्ध भएर महाधिवेशनको तयारीमा लाग्नुपर्नेमा जोड दिइन् । "१५ औँ महाधिवेशन पार्टीको भविष्य निर्धारण गर्ने बलियो जग हो, हामी समयमै महाधिवेशन गर्न आन्तरिक तयारीमा जुटिसकेका छौँ," उनले भनिन्, "अब पार्टीमा कुनै पनि विषयलाई लिएर दुविधा राख्नु हुँदैन, सिंगो पार्टी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ ।"
कांग्रेसले यसपटक नयाँ क्रियाशील सदस्यता वितरण कार्यलाई थप प्रभावकारी, व्यवस्थित र पारदर्शी बनाउँदै पार्टीमा युवा आकर्षण अभिवृद्धि गर्ने रणनीति लिएको छ । अभियानअन्तर्गत विशेष गरी १८ देखि ३५ वर्ष उमेर समूहका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने नीति बनाइएको छ ।

जसअनुसार प्रत्येक वडाबाट १८ देखि ३५ वर्ष उमेर समूहका कम्तीमा १० जना युवा र २० जना महिलालाई अनिवार्य रूपमा यस अभियानमा समेट्न जोड दिइएको छ । यो मापदण्ड अनुसार एउटा पालिकामा मात्रै औसत १०० जना नयाँ र ऊर्जावान् युवाहरू पार्टीको सांगठनिक ढाँचामा जोडिने कांग्रेसले जनाएको छ ।









Facebook Comments