काठमाडौं । वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टर खाली गराउन खोजिएको भन्दै सुकुम्वासी तथा भूमिहीन परिवारहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। विभिन्न कम्युनिस्ट समूहको समर्थनमा माइतीघर मण्डलमा आयोजित प्रदर्शनमा सहभागीहरूले सरकारले जबरजस्ती विस्थापन गर्न लागेको आरोप लगाए।

प्रदर्शनकारीहरूले नदीकिनारबाट हटाइएका परिवारलाई दीर्घकालीन बसोबासको व्यवस्था नगरी फेरि होल्डिङ सेन्टरबाट पनि निकाल्न खोजिएको भन्दै त्यसको विरोध गरेका हुन्।

ad

उनीहरूले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीमाथि दमन भइरहेको दाबी गर्दै निष्कासन प्रक्रिया तत्काल रोक्न र सम्मानजनक पुनर्स्थापनाको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्।

प्रदर्शनका क्रममा सरकारविरुद्ध नाराबाजी गर्दै सहभागीहरूले आवासको मौलिक अधिकार सुरक्षित गर्नुपर्ने, वैकल्पिक व्यवस्थाबिना कुनै पनि बस्ती हटाउन नहुने र भूमिसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने माग दोहोर्‍याए। उनीहरूले उचित विकल्प नदिए आफूहरू पुनः पुरानै बसोबास क्षेत्रमा फर्किने चेतावनीसमेत दिएका छन्।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै होल्डिङ सेन्टरमा बसिरहेका परिवारलाई असार १९ गतेभित्र स्थान खाली गर्न निर्देशन दिएको छ।

गत वैशाखमा काठमाडौं उपत्यकाका नदी किनारका अनधिकृत बस्ती हटाइएपछि प्रभावित परिवारहरूलाई अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखिएको थियो।