चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनले चितवनको स्थानीय अर्थतन्त्रमा उल्लेखनीय प्रभाव पारेको छ। महाधिवेशनका क्रममा जिल्लामा ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार भएको प्रारम्भिक अनुमान गरिएको छ।

देशभरबाट आएका प्रतिनिधि, पर्यवेक्षक, नेता–कार्यकर्ता र शुभेच्छुकहरूको उपस्थितिले करिब एक सातासम्म होटल, रेस्टुरेन्ट, यातायात, पर्यटन तथा अन्य सेवा क्षेत्र व्यस्त बनेका थिए। गत आइतबार उद्घाटन भएको महाधिवेशन शुक्रबार समापन हुँदैछ।

ad

महाधिवेशनको आवास तथा खाना व्यवस्थापन उपसमितिका संयोजक राजन गौतमका अनुसार सहभागीहरूले आवासमा मात्रै करिब २० करोड रुपैयाँ खर्च गरेका छन्। उनका अनुसार महाधिवेशनको व्यस्त समयमा एकै दिन करिब २० हजार जना चितवनमा बसेका थिए।

उद्घाटनका दिन र त्यसको भोलिपल्ट समर्थकहरूको उपस्थिति सबैभन्दा धेरै रहेको र त्यसपछि क्रमशः भीड घट्दै गएको गौतमले बताए। उनका अनुसार महाधिवेशनबाट सबैभन्दा बढी आर्थिक लाभ भरतपुर क्षेत्रले पाएको छ।

सहभागीहरूको बसोबास भरतपुरमा मात्र सीमित नभई सौराहा, पूर्वी चितवन तथा नवलपरासीको गैँडाकोटसम्मका होटलमा समेत गरिएको थियो। प्रतिनिधिहरूले आफ्नै खर्चमा आवासको व्यवस्था गरेका थिए भने चार दिनको खानाको व्यवस्थापन पार्टीले गरेको थियो। यसबाहेक अन्य भोजन खर्च सहभागीहरूले आफैं बेहोरेका थिए। गौतमका अनुसार पार्टीको खानापान व्यवस्थापनमा मात्रै चार करोड रुपैयाँभन्दा बढी खर्च भएको अनुमान छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार महाधिवेशनका लागि बाहिरी जिल्लाबाट करिब २,२०० साना–ठूला सवारीसाधन चितवन आएका थिए।

उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले महाधिवेशनले जिल्लाको समग्र आर्थिक गतिविधिलाई चलायमान बनाएको बताए। होटल तथा रेस्टुरेन्टमा चहलपहल बढेसँगै दुग्धजन्य पदार्थ, माछा, मासु, अण्डा, फलफूललगायत कृषि उत्पादनको माग पनि उल्लेख्य रूपमा बढेको उनको भनाइ छ।

क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ओम पाण्डेका अनुसार भरतपुरका होटलहरूले सबैभन्दा बढी लाभ उठाएका छन् भने त्यसपछि सौराहालगायतका पर्यटकीय क्षेत्रका होटलमा पनि राम्रो व्यापार भएको छ। उनले पहिलो पटक चितवन पुगेका रास्वपाका धेरै नेता–कार्यकर्ताले सौराहासहित जिल्लाका पर्यटकीय गन्तव्य अवलोकन गर्ने अवसरसमेत पाएको बताए।