काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी महाधिवेशनका कारण प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्न सकेन। संसद् सचिवालयले शुक्रबार मात्रै दुई पटक सूचना प्रकाशित गर्दै बैठकको मिति परिवर्तन गरेको हो।

असार ५ गतेपछि स्थगित भएको प्रतिनिधिसभा बैठक रास्वपाको महाधिवेशनका कारण पटक–पटक पर सारिँदै आएको छ। यसअघि बिहीबारका लागि तय गरिएको बैठक पनि सूचना जारी गरेर शुक्रबारका लागि सारिएको थियो।

ad

रास्वपाको महाधिवेशन असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने कार्यतालिका रहेकाले सभामुख देवराज घिमिरेले बैठक बिहीबारसम्म स्थगित गरेका थिए। तर महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसकेपछि शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक सारिएको थियो।

त्यसपछि पनि बैठक बस्न नसक्ने अवस्था आएपछि संसद् सचिवालयले विशेष कारण उल्लेख गर्दै शनिबारका लागि नयाँ मिति तय गर्‍यो। तर केही समयमै अर्को सूचना जारी गर्दै शनिबारको बैठकसमेत स्थगित गरी आइतबारका लागि सारिएको छ।

सचिवालयले सार्वजनिक गरेको संशोधित कार्यतालिकाअनुसार अब प्रतिनिधिसभाको बैठक आइतबार बिहान ११ बजे बस्नेछ।

संसद् सचिवालयका एक कर्मचारीका अनुसार रास्वपाको महाधिवेशनमा पदाधिकारी चयनका लागि मतदान जारी रहेकाले त्यसको प्रक्रिया सम्पन्न हुने अपेक्षासहित आइतबार बैठक राखिएको हो।