
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा आयोजना हुने विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख कम्युनिस्ट नेताहरू आइतबार एउटै मञ्चमा उपस्थित हुने भएका छन्।
मदन भण्डारी फाउण्डेशनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा असार १४ गते राष्ट्रिय सभागृहमा ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठी आयोजना गर्दैछ।
कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यसूची तय गरिएको छ।
पछिल्लो समय फरक–फरक राजनीतिक धारमा सक्रिय रहेका प्रमुख कम्युनिस्ट नेताहरू एउटै मञ्चमा उपस्थित हुने भएकाले उक्त गोष्ठीलाई राजनीतिक रूपमा पनि चासोका साथ हेरिएको छ।
मदन भण्डारीको राजनीतिक योगदान, विचार र नेपाली कम्युनिस्ट आन्दोलनमा उनको भूमिकामाथि केन्द्रित रहने कार्यक्रममा विभिन्न दलका शीर्ष नेताहरूले आफ्ना धारणा सार्वजनिक गर्नेछन्।










Facebook Comments