वीरगञ्ज । २५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योगका सञ्चालकले अब उद्योगसम्बन्धी सेवा लिन काठमाडौं पुग्नुपर्ने बाध्यता हटेको छ। अब यस्ता उद्योगका अधिकांश प्रशासनिक काम वीरगञ्जस्थित उद्योग विभागबाटै हुने भएका छन्।

उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिश पटेलले मधेस प्रदेशका १८८ वटा उद्योगसँग सम्बन्धित फाइल उद्योग विभाग वीरगञ्जलाई हस्तान्तरण गरेसँगै स्थानीय स्तरबाटै सेवा प्रवाहको व्यवस्था लागू भएको हो।

ad

उद्योग विभाग वीरगञ्जकी निमित्त महानिर्देशक रिमा साहका अनुसार फाइल हस्तान्तरणसँगै मधेस प्रदेशका सम्बन्धित उद्योगलाई वीरगञ्जबाटै सेवा उपलब्ध गराउने प्रक्रिया सुरु भएको छ।

यसअघि उद्योग विभाग त्रिपुरेश्वरले ती उद्योगका कागजात मन्त्रालयमार्फत वीरगञ्ज पठाएको थियो। अब २५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योगहरूले उद्योग दर्तापछिका विभिन्न प्रशासनिक सेवा वीरगञ्जमै प्राप्त गर्न सक्नेछन्।

निमित्त महानिर्देशक साहका अनुसार उद्योग नवीकरण, लगत कट्टा, उद्योगको नाम वा ठेगाना परिवर्तन, शाखा विस्तार, पुँजी तथा उत्पादन क्षमता वृद्धि, उद्देश्य संशोधनलगायतका सबै प्रक्रिया अब उद्योग विभाग वीरगञ्जबाटै सम्पन्न हुनेछन्।

यस व्यवस्थासँगै मधेस प्रदेशका उद्योगी–व्यवसायीले सामान्य प्रशासनिक कामका लागि काठमाडौं पुग्नुपर्ने झन्झट हट्ने अपेक्षा गरिएको छ। साथै, सेवा प्रवाहलाई थप सहज, छिटो र प्रभावकारी बनाउन पनि यसले सहयोग पुग्ने विश्वास गरिएको छ।