
काठमाडौं । भारततर्फ नेपाली चिया निर्यातका क्रममा उत्पन्न भएका प्राविधिक तथा व्यापारिक अवरोध समाधान गर्न सरकारले उच्चस्तरीय कार्यदल गठन गरेको छ। सरकारी पहलपछि झापा र इलामका बन्द चिया उद्योगहरू पनि पुनः सञ्चालनमा आउने भएका छन्।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको नेतृत्वमा कार्यदल गठन गरिएको हो। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ, गृह, परराष्ट्र, कृषि, वन तथा वातावरण मन्त्रालयका प्रतिनिधिसहित विभिन्न नियामक निकायका अधिकारीहरू सहभागी छन्।
कार्यदलमा भन्सार विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रतिनिधिहरूलाई समेत समेटिएको छ। उद्योग मन्त्रालयका एक उपसचिवलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ।
हालै भारतको ‘टि बोर्ड अफ इन्डिया’ले आयात हुने सबै चियाको अनिवार्य गुणस्तर परीक्षण गर्ने व्यवस्था लागू गरेपछि नेपाली चिया निर्यात प्रभावित भएको थियो। नयाँ कार्यविधिअनुसार प्रयोगशाला परीक्षण प्रतिवेदन प्राप्त नभएसम्म चिया गोदाममा राख्नुपर्ने तथा अतिरिक्त परीक्षण शुल्क तिर्नुपर्ने प्रावधान लागू भएपछि निर्यातकर्ताहरू थप दबाबमा परेका थिए।
व्यवसायीहरूले सीमावर्ती भन्सार नाकामा मालबाहक सवारी लामो समय रोकिँदा चियाको गुणस्तरमा असर पर्ने, लागत बढ्ने तथा व्यापारिक प्रतिस्पर्धात्मकता कमजोर हुने गुनासो गर्दै आएका थिए। यही समस्याको समाधान खोज्न कार्यदल गठन गरिएको सरकारको भनाइ छ।
सरकारी पहलपछि खुले चिया उद्योग
उता, नेपाल चिया उत्पादक सङ्घले सरकारबाट समस्या समाधानका लागि सकारात्मक प्रतिबद्धता प्राप्त भएपछि बन्दका कार्यक्रम फिर्ता लिँदै उद्योगहरू पुनः सञ्चालन गर्ने निर्णय गरेको छ।
सङ्घद्वारा जारी विज्ञप्तिमा चिया निर्यातमा देखिएका समस्या समाधान, किसान तथा उद्योगीका गुनासा सम्बोधन र नेपाली चियाको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि सरकारले चालेको पहललाई सकारात्मक रूपमा लिइएको उल्लेख छ।
भारतीय पक्षले लागू गरेको नयाँ मापदण्डका कारण निर्यात प्रक्रिया जटिल बनेपछि उद्योगीहरूले केही दिनदेखि उद्योग सञ्चालन रोकेका थिए। तर सरकारद्वारा गठित कार्यदलले समस्या समाधानतर्फ पहल गर्ने विश्वास व्यक्त गर्दै उद्योगीहरूले उत्पादन र प्रशोधन कार्य पुनः सुरु गर्ने निर्णय गरेका हुन्।
सङ्घले किसान, मजदुर र समग्र चिया क्षेत्रको हितलाई ध्यानमा राख्दै उद्योग सञ्चालनलाई निरन्तरता दिने जनाएको छ भने सरकारले पनि दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायहरूसँग समन्वय बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।










Facebook Comments