काठमाडौं । कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासी परिवारहरूले सरकारले उचित विकल्प उपलब्ध नगराए आफूहरू पुरानै बसोबास क्षेत्रमा फर्किन बाध्य हुने चेतावनी दिएका छन्।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले होल्डिङ सेन्टर खाली गर्ने तयारीस्वरूप त्यहाँ बसिरहेका परिवारलाई भोलिसम्म स्थान छाड्न आग्रह गर्दै राहतस्वरूप २५ हजार रुपैयाँ उपलब्ध गराउन बैंक खाताको विवरण माग गरेको छ।

ad

तर, प्रभावित परिवारहरूले उक्त रकमले दीर्घकालीन समस्या समाधान नहुने भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूका अनुसार व्यवस्थित र सुरक्षित बसोबासको विकल्प नदिई सीमित आर्थिक सहायता दिएर जिम्मेवारीबाट पन्छिन खोजिएको अनुभूति भएको छ।

यसैबीच, पीडितहरूले होल्डिङ सेन्टर बाहिर ‘पीडितहरूको सरोकार पत्र’ सार्वजनिक गर्दै आफ्नो धारणा राखेका छन्। उनीहरूले स्थायी पुनःस्थापनाको स्पष्ट योजना नआएसम्म हाल बसिरहेको स्थानमै आवश्यक सेवा–सुविधासहित बस्न पाउनुपर्ने वा सुरक्षित र उपयुक्त वैकल्पिक स्थानको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

सरोकार पत्रमा हालै गठन भएको भूमि समस्या समाधान समितिले विस्थापित परिवारहरूको तथ्यांक संकलन, पहिचान र प्रमाणीकरणलाई प्राथमिकतामा राख्दै समस्या समाधानको प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख गरिएको छ।

पीडितहरूले सरकारकै नीति तथा कार्यक्रममा सुकुमबासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनलाई प्राथमिकता दिइएको स्मरण गराउँदै त्यसअनुसार स्थायी समाधान खोज्न आग्रह गरेका छन्। अन्यथा, कुनै वैकल्पिक व्यवस्था बिना होल्डिङ सेन्टर खाली गराउन खोजिए आफूहरू पहिले बसोबास गर्दै आएको क्षेत्रमा फर्केर पुनः आश्रय निर्माण गर्न बाध्य हुने चेतावनी दिएका छन्।