काठमाडौं । सङ्घीय संसद् सचिवालयले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश गर्नुका साथै विभिन्न विधेयकहरू सदनमा दर्ता र प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३’ प्रतिनिधिसभामा पेश गर्नेछिन्।

ad

बैठकमा कानूनमन्त्री गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्दै विधेयक सदनमा पेश गर्ने कार्यसूची पनि रहेको छ।

यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभामा पेश गर्ने कार्यक्रम रहेको छ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ सदनमा पेश गर्नेछिन् भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन्।

यसैगरी, बैठकमा बजेटसम्बन्धी विधायी प्रक्रियालाई पनि अगाडि बढाइने भएको छ। अर्थमन्त्री वाग्लेले ‘आर्थिक विधेयक, २०८३’ माथि दर्ता भएका संशोधन प्रस्तावहरू निर्णयार्थ पेश गर्दै उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष राख्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

भोलिको बैठकमा सरकारका विभिन्न क्षेत्रसँग सम्बन्धित कानुनी तथा नीतिगत प्रस्तावमाथि छलफल र निर्णयको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।