काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटे पनि पेट्रोल र डिजेलको खुद्रा मूल्य भने अपेक्षित दरमा घट्न सकेको छैन। केही साताअघि भू–राजनीतिक तनावका कारण प्रतिब्यारेल ११९ अमेरिकी डलरसम्म पुगेको कच्चा तेल अहिले ७० डलरभन्दा तल झरेको छ। तर उपभोक्ताले प्रयोग गर्ने इन्धनको मूल्यमा त्यसको प्रत्यक्ष प्रभाव अझै देखिएको छैन।

विशेषज्ञहरूका अनुसार कच्चा तेल र प्रशोधित इन्धनको मूल्यबीच सीधा सम्बन्ध भए पनि मूल्य निर्धारणका प्रक्रिया, प्रशोधन लागत, ढुवानी खर्च तथा बजारको माग–आपूर्तिले अन्तिम मूल्यलाई प्रभावित गर्छन्।

ad

पेट्रोलियम क्षेत्रका जानकार सुशील भट्टराईका अनुसार कच्चा तेल केवल आधारभूत कच्चा पदार्थ हो। त्यसलाई प्रयोगयोग्य पेट्रोल, डिजेल वा अन्य इन्धनमा रूपान्तरण गर्न रिफाइनरी, प्रविधि र ठूलो लगानी आवश्यक पर्छ। त्यसैले कच्चा तेलको मूल्य घट्नु मात्र इन्धन सस्तो हुने पर्याप्त आधार बन्न सक्दैन।

उनका अनुसार प्रशोधित इन्धनको बजार छुट्टै ढंगले सञ्चालन हुन्छ। विश्व बजारमा पेट्रोल र डिजेलको मौज्दात पर्याप्त नभएसम्म कच्चा तेलको मूल्यमा आएको गिरावटले तत्काल प्रभाव पार्दैन। माग उच्च रहँदा र उपलब्धता सीमित हुँदा प्रशोधित इन्धनको मूल्य उच्च नै रहने सम्भावना हुन्छ।

ढुवानी लागत पनि अर्को महत्वपूर्ण पक्ष हो। कच्चा तेल र प्रशोधित इन्धन ढुवानी गर्ने जहाजको मापदण्ड फरक हुने भएकाले तयारी इन्धन ढुवानीमा बढी खर्च लाग्छ। गुणस्तर कायम राख्नुपर्ने कडा प्रावधानले समेत लागत बढाउँछ, जसको असर अन्तिम मूल्यमा देखिन्छ।

मूल्य घट्न समय किन लाग्छ ?

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटे पनि त्यसको प्रभाव उपभोक्तासम्म पुग्न केही हप्ता लाग्न सक्छ। रिफाइनरीहरूले प्रायः पहिले नै खरिद गरिएको महँगो कच्चा तेलबाट उत्पादन गरिरहेका हुन्छन्। पुरानो स्टक सकिएपछि मात्र नयाँ मूल्यको प्रभाव बजारमा देखिन थाल्छ।

विशेषज्ञहरूका अनुसार सस्तो कच्चा तेल रिफाइनरीमा पुग्ने, प्रशोधन हुने र अन्ततः खुद्रा बजारसम्म आइपुग्ने प्रक्रियामा सामान्यतया १५ देखि ३० दिनसम्म लाग्न सक्छ।

यसका अतिरिक्त अन्तर्राष्ट्रिय तनाव, समुद्री सुरक्षा जोखिम र बिमा शुल्क वृद्धिले पनि इन्धन मूल्य घटाउने प्रक्रियालाई सुस्त बनाउँछन्। आपूर्ति अवरुद्ध हुन सक्ने आशंकाले बजारमा ‘जोखिम प्रिमियम’ कायम रहँदा मूल्य तत्काल तल झर्न सक्दैन।

डिजेल किन पेट्रोलभन्दा महँगो ?

विगतमा पेट्रोल प्रायः डिजेलभन्दा महँगो हुने गर्थ्यो। तर पछिल्ला वर्षहरूमा विश्व बजारमा डिजेलको मूल्य तीव्र रूपमा बढेको छ। यसको मुख्य कारण औद्योगिक क्षेत्रमा बढ्दो माग र ऊर्जा संकटलाई मानिएको छ।

युक्रेन युद्धपछि युरोपमा प्राकृतिक ग्यासको आपूर्ति प्रभावित भएपछि उद्योग, ताप प्रणाली तथा विद्युत उत्पादनका लागि डिजेलको प्रयोग बढेको थियो। बढ्दो मागका बीच उत्पादन र आपूर्तिमा आएको दबाबले डिजेलको मूल्य पेट्रोलभन्दा माथि पुर्‍याएको विश्लेषकहरू बताउँछन्।

रिफाइनरी क्षमतामा आएको अवरोध, केही उत्पादन केन्द्रमा भएको क्षति तथा औद्योगिक खपतको निरन्तर वृद्धिले पनि डिजेलको मूल्यलाई उच्च स्तरमा कायम राखेको छ।

नेपालमा किन ढिलो देखिन्छ असर ?

नेपालमा इन्धनको मूल्य निर्धारण भारतीय आयल कर्पोरेसनबाट प्राप्त मूल्य सूचीका आधारमा हुने भएकाले अन्तर्राष्ट्रिय बजारको प्रभाव प्रत्यक्ष र तत्काल देखिँदैन। नेपाल आयल निगमले सामान्यतया १५–१५ दिनमा नयाँ मूल्य सूची प्राप्त गर्छ।

यस कारण विश्व बजारमा आज मूल्य घटे पनि नेपालमा त्यसको प्रभाव देखिन केही समय लाग्न सक्छ। त्यसमाथि निगमको वित्तीय अवस्था, मूल्य स्थिरीकरण कोषको व्यवस्थापन तथा विगतका घाटा समायोजनजस्ता पक्षले पनि मूल्य समायोजनको निर्णयलाई प्रभावित गर्छन्।

विशेषज्ञहरूका अनुसार पेट्रोलियम पदार्थको मूल्यले ढुवानी, कृषि, निर्माण र दैनिक उपभोग्य वस्तुको लागतमा प्रत्यक्ष असर पार्ने भएकाले मूल्य निर्धारणमा सरकार र सम्बन्धित निकायले सन्तुलित नीति अपनाउन आवश्यक छ।