काठमाडौं । नेपाल आयल निगमले विराटनगरबाट सिलिगुडी डिपोतर्फ पठाइएको पेट्रोल बोकेको ट्यांकरबाट इन्धन चोरी भएको घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।

निगमको कोसी प्रादेशिक कार्यालयका प्रमुख पुष्कर कार्कीका अनुसार असार ५ गते २० हजार लिटर पेट्रोल बोकेको ना.१ ख ९४१० नम्बरको ट्यांकर विराटनगरबाट प्रस्थान गरेको थियो। सोही दिन साँझ ट्यांकरलाई विराटनगरको दुर्गा चोकस्थित कर्मचारी पार्किङ क्षेत्रमा राखिएको थियो।

ad

तर असार ८ गते बिहान ढुवानीकर्ताले उक्त ट्यांकर पार्किङबाट हराएको जानकारी निगमलाई लिखित रूपमा गराएका थिए। त्यसपछि निगमले तत्काल जिल्ला प्रहरी कार्यालय मोरङलाई घटनाबारे जानकारी गराएको थियो।

सीसीटीभी फुटेजको अध्ययनका क्रममा ट्यांकर असार ८ गते बिहान करिब ३ बजे पार्किङ क्षेत्रबाट बाहिरिएको देखिएको थियो। त्यसपछि प्रहरी, निगम र ढुवानीकर्ताको संयुक्त टोलीले खोजी अभियान सञ्चालन गरेको थियो।

खोजीका क्रममा ट्यांकर सुनसरीको इटहरी–धरान सडकखण्डमा पार्किङस्थलबाट करिब १७ किलोमिटर टाढा फेला परेको थियो। ट्यांकरको सुरक्षा सिल (एसएलएस) काटिएको अवस्थामा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पूरा गरेर निगमको डिपोमा ल्याएको थियो।

असार १० गते जिल्ला प्रशासन कार्यालय, प्रहरी, सञ्चारकर्मी, निगम तथा ढुवानीकर्ताका प्रतिनिधिको उपस्थितिमा ट्यांकरको सिल खोली परिमाण परीक्षण गरिएको थियो। परीक्षणका क्रममा २० हजार लिटर पेट्रोलमध्ये ७३७ लिटर कम रहेको पुष्टि भएको छ। बाँकी १९ हजार २६३ लिटर पेट्रोल निगमको भण्डारणमा जम्मा गरिएको छ।

निगमले पेट्रोलियम पदार्थ ढुवानी विनियमावली–२०७१ बमोजिम हराएको पेट्रोलको मूल्य सम्बन्धित ढुवानीकर्ताबाट असुल गर्ने प्रक्रिया अघि बढाइसकेको जनाएको छ। साथै घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान गर्न सुरक्षा निकायसँगको समन्वयमा अनुसन्धान जारी रहेको निगमले जनाएको छ।