चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो जारी महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बुधबार साँझ मतदान गर्ने तयारी गरेको छ। पार्टीले मतदान सम्पन्न भएको करिब दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने योजना बनाएको छ।

पार्टीका प्रवक्ता मनीष झाले पत्रकार सम्मेलनमार्फत साँझ साढे ७ बजेदेखि मतदान प्रक्रिया सुरु हुने जानकारी दिए। उनका अनुसार निर्वाचनका लागि ७५ वटा मतदान बुथको व्यवस्था गरिएको छ भने करिब चार हजार १०० प्रतिनिधिले मतदानमा भाग लिनेछन्।

ad

प्रतिनिधिहरूले सातदेखि १० मिनेटभित्र मतदान गर्न सक्ने गरी आवश्यक प्रबन्ध मिलाइएको उनले बताए। पार्टीको अनुमानअनुसार सम्पूर्ण मतदान प्रक्रिया करिब चार घण्टाभित्र सम्पन्न हुनेछ।

महाधिवेशनका केही व्यवस्थापकीय काम समयमै पूरा हुन नसक्दा कार्यतालिका प्रभावित भएको स्वीकार गर्दै झाले अनुभवको अभाव र प्राविधिक जटिलताका कारण ढिलाइ भएको बताए। यद्यपि, महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सबै पक्ष सक्रिय रूपमा लागिरहेको उनको भनाइ छ।

उनले अब थप ढिलाइ नगरी नेतृत्व चयन प्रक्रिया निष्कर्षमा पुर्‍याएर मात्र प्रतिनिधिहरू चितवनबाट फर्किने बताए। ‘केही अन्योल अझै रहन सक्छ, तर अब जतिसक्दो छिटो प्रक्रिया पूरा गरेर महाधिवेशन टुंग्याउने हाम्रो प्रयास छ,’ उनले भने।

उम्मेदवारी दर्ताको काम सम्पन्न भइसकेको भए पनि उम्मेदवारहरूको अन्तिम सूची भने सार्वजनिक हुन बाँकी रहेको जानकारी दिँदै उनले बिहीबार दिउँसोसम्म महाधिवेशनका सम्पूर्ण प्रक्रिया सक्ने लक्ष्य रहेको बताए।

रास्वपाले प्रारम्भिक रूपमा तीन दिनभित्र महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको थियो। असार ७ गते उद्घाटन भएको महाधिवेशन निर्धारित समयभन्दा लम्बिने संकेत देखिएको छ भने समापनका लागि कम्तीमा पाँच दिन लाग्ने अवस्था बनेको छ।