काठमाडौँ । नेपालका ११ जिल्लामा बर्डफ्लू (एच५एन१) संक्रमण फैलिएको पुष्टि भएको छ। पशु सेवा विभागका अनुसार तीन महिनाअघि मोरङबाट देखिएको संक्रमण अहिले झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेसम्म पुगेको छ।

संक्रमण नियन्त्रणका लागि हालसम्म ५ लाख ६९ हजार ८५८ वटा कुखुरा नष्ट गरिएको विभागले जनाएको छ। त्यस्तै, ९ लाख ८९ हजार ३१३ वटा अण्डा र १ लाख ९५ हजार ४८५ किलोग्राम दाना पनि नष्ट गरिएको छ।

ad

विभागका अनुसार कोशी प्रदेशमा फैलिएको संक्रमण एक महिनाभित्र नियन्त्रणमा ल्याउन सफल भएको दाबी गरिएको छ। संक्रमित क्षेत्रहरूमा कुखुरा, अण्डा तथा दानाको ढुवानीमा कडाइ गरिएको छ भने उच्च जोखिम भएका फार्महरूमा जैविक सुरक्षा मापदण्ड प्रभावकारी रूपमा लागू गरिएको छ।

प्रयोगशाला परीक्षणका क्रममा बर्डफ्लूका एच५एन१ र एच९एन२ भाइरससँगै न्यूक्यासल रोगको संक्रमणसमेत फेला परेको विभागले जनाएको छ।

किसानहरूलाई संक्रमित वा शंकास्पद कुखुराको व्यवस्थापन गर्दा विशेष सतर्कता अपनाउन तथा मरेका कुखुरा खुला स्थानमा नफाल्न आग्रह गरिएको छ। साथै, फार्ममा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न, बाहिरी व्यक्तिको प्रवेश सीमित गर्न र कुनै कुखुरा अस्वाभाविक रूपमा बिरामी वा मृत भेटिए तत्काल नजिकको पशु सेवा कार्यालयलाई जानकारी गराउन विभागले अनुरोध गरेको छ।

पशु सेवा विभागका महानिर्देशक डा. रमेश दाहालले बर्डफ्लू नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन सबै सरोकारवाला निकाय र किसानको सक्रिय सहयोग आवश्यक रहेको बताएका छन्।