
फिफा विश्वकप प्रतियोगिताअन्तर्गत समूह चरणका खेलहरूमा रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ । समूह ‘एल’ अन्तर्गत भएको खेलमा बलियो टोली इङ्ल्याण्ड र घानाले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । आफ्नो पहिलो खेलमा इङ्गल्याण्डले क्रोएसियालाई ४-२ र घानाले पानामालाई १-० गोलअन्तरले पराजित गरेका थिए । आजको बराबरीपछि दुवै टोलीले नकआउट सम्भावनालाई कायमै राखेका छन् ।
यसै समूहको अर्को निकै नै रोमाञ्चक र निर्णायक खेलमा क्रोएसियाले पानामाविरुद्ध १-० को कठिन जित दर्ता गरेको छ । क्यानडाको टोरोन्टो स्टेडियममा भएको उक्त खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा क्रोएसियाले रणनीति परिवर्तन गर्यो ।
मुख्य प्रशिक्षकले पेटार मुसाको स्थानमा मैदान प्रवेश गराएका अनुभवी वैकल्पिक फरवार्ड आन्ते बुदिमिरले खेलको ५४ औँ मिनेटमा सानदार गोल गर्दै टोलीलाई अग्रता दिलाए । जोसिप स्टानिसीचले दायाँ भागबाट दिएको उत्कृष्ट क्रस पासलाई बुदिमिरले पोस्टको जाली चुमाएका थिए । पहिलो खेलमा इङ्ल्याण्डसँग पराजित क्रोएसियाका लागि यो पहिलो जित हो भने पानामाले लगातार दोस्रो हार ब्यहोरेको छ । पानामाले खेलमा फर्कन निकै प्रयास गरे पनि क्रोएसियाको बलियो रक्षापंक्ति र गोलरक्षक डोमिनिक लिभाकोभिचको उत्कृष्ट बचाउका कारण पानामा अङ्कविहीन बन्न पुग्यो । अब समूह चरणको अन्तिम खेलमा पानामाले इङ्ल्याण्डसँग र क्रोएसियाले घानासँग प्रतिस्पर्धा गर्नेछन् ।
उता समूह ‘के’ अन्तर्गतको खेलमा कप्तान क्रिस्टियानो रोनाल्डो चम्किँदा पोर्चुगलले उज्वेकिस्तानमाथि ५-० को फराकिलो जित दर्ता गरेको छ । पोर्चुगलको जितमा दुई गोल गरेका रोनाल्डो नायक बने । उनले खेलको छैटौँ मिनेटमा कर्नरबाट आएको बललाई गोलमा परिणत गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि १७औँ मिनेटमा नुनो मेन्डेसले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए भने ३९औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि पोर्चुगल पहिलो हाफमै ३-० को बलियो स्थितिमा पुग्यो । दोस्रो हाफमा पनि आक्रामक खेल जारी राखेको पोर्चुगलका लागि खेलको ६०औँ मिनेटमा अब्दवोहिद नेमातोवले र ८७औँ मिनेटमा राफाएल लीओले गोल गरेपछि टोली ५-० ले विजयी भयो ।
यो जितसँगै पोर्चुगल समूह ‘के’ को अङ्क तालिकामा चार अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा पोर्चुगल कङ्गोसँग बराबरीमा रोकिएको थियो । लगातार दोस्रो हार बेहोरेको उज्वेकिस्तान भने अङ्क तालिकाको पुछारमा छ । यसै समूहअन्तर्गत आजै बिहान ७ः४५ बजे कोलम्बिया र कङ्गोबीच खेल हुँदैछ ।










Facebook Comments