
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथि भइरहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको आधारमध्ये व्यवसायी कमलकिशोर मालपानी र चुन्नप्रसाद शर्मा पौडेलको बयान पनि रहेको खुलासा भएको छ।
विशेष अदालतमा थुनछेक बहसका क्रममा सरकारी पक्षले पौडेलविरुद्ध संकलित प्रमाण र बयानबारे जानकारी गराउँदै अनुसन्धानका क्रममा प्राप्त विवरणका आधारमा उनलाई नियन्त्रणमा लिइएको जनाएको थियो।
सरकारी पक्षका अनुसार रुपन्देही–२ का पूर्वउम्मेदवार चुन्नप्रसाद शर्मा पौडेल र व्यवसायी कमलकिशोर मालपानीले दिएको बयान अनुसन्धानको महत्वपूर्ण आधार बनेको छ। उनीहरूले श्रीराम टोबाकोको शेयर कारोबारसँग सम्बन्धित विषयमा विष्णु पौडेलको भूमिका रहेको दाबी गरेका छन्।
तर बचाउ पक्षका कानुन व्यवसायीहरूले यस्तो दाबीलाई अस्वीकार गर्दै केवल बयानका आधारमा पक्राउ गर्नु कानुनी रूपमा पर्याप्त नहुने तर्क गरेका छन्। वरिष्ठ अधिवक्ता रमेश बडालले राजनीतिक प्रतिस्पर्धी वा सम्बन्धित व्यक्तिको बयानलाई स्वतन्त्र र निर्णायक प्रमाणका रूपमा लिन नमिल्ने जिकिर गरे।
पौडेल पक्षका वकिलहरूले श्रीराम टोबाकोको शेयर खरिद–बिक्री प्रकरणमा पौडेलको प्रत्यक्ष संलग्नता पुष्टि गर्ने कुनै प्रमाण सरकारी पक्षले प्रस्तुत गर्न नसकेको दाबी गरेका छन्। उनीहरूका अनुसार कुनै कम्पनीले शेयर खरिद गरेको विषयलाई लिएर पौडेलमाथि दोषारोपण गर्नु न्यायोचित छैन।
बहसका क्रममा बचाउ पक्षले अनुसन्धानलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोपसमेत लगाएको छ। उनीहरूले पर्याप्त प्रमाणबिना पक्राउ गरिएको भन्दै पौडेललाई हिरासतमा नराखी रिहा गर्न माग गरेका छन्।
सरकारी पक्षले भने सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा प्राप्त बयान, आर्थिक कारोबारका विवरण तथा अन्य तथ्यका आधारमा अनुसन्धान अघि बढाइएको जनाएको छ।
विशेष अदालतमा दुवै पक्षबीच अनुसन्धानको आधार, बयानको विश्वसनीयता तथा पक्राउको वैधानिकतामाथि बहस जारी छ। अदालतले प्रस्तुत प्रमाण र कानुनी तर्कको मूल्याङ्कनपछि थप आदेश दिने अपेक्षा गरिएको छ।









Facebook Comments