झापा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता केन्द्रित राजनीति, अस्थिर गठबन्धन र नेतृत्व तहको पद आकांक्षाका कारण कांग्रेसप्रति जनविश्वास कमजोर भएको स्वीकार गरेका छन्। उनले अब सरकार गठनको अंकगणितभन्दा जनताको मन जित्ने राजनीतिलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

मंगलबार बिर्तामोड मा आयोजित कांग्रेसको जिल्लास्तरीय कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले विगतका राजनीतिक निर्णयका कारण पार्टीको छविमा नकारात्मक प्रभाव परेको बताए। स्पष्ट राजनीतिक आधारबिना गठबन्धन बनाउने र फेरि त्यही गठबन्धन तोड्ने प्रवृत्तिले जनतामा कांग्रेसप्रति असन्तुष्टि बढाएको उनको भनाइ थियो।

ad

उनले सीमित नेताहरूको प्रधानमन्त्री बन्ने आकांक्षा र सत्ता भागबण्डाको राजनीतिले पार्टीको प्रतिष्ठामा क्षति पुर्‍याएको उल्लेख गर्दै कांग्रेसले आत्मसमीक्षा गरेर जनमुखी राजनीतिमा फर्किनुपर्ने आवश्यकता औंल्याए।

“कांग्रेस संसद्बाट जन्मिएको पार्टी होइन, कांग्रेसले संसद् जन्माएको पार्टी हो,” थापाले भने, “सत्ताको मोहले पार्टीको साख र जनविश्वासमा असर पुगेको छ। अब जनताको भरोसा पुनः स्थापित गर्नु हाम्रो मुख्य जिम्मेवारी हो।”

थापाले देशका जटिल समस्या समाधान गर्न सक्ने क्षमता कांग्रेससँग अझै पनि रहेको दाबी गर्दै संगठनलाई जनतासँग थप निकट बनाउनुपर्ने बताए।

कार्यक्रममा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले मुद्दा लागेका सांसदलाई निलम्बन नहुने व्यवस्था सुशासनको सिद्धान्तसँग मेल नखाने टिप्पणी गरे। उनले विगतका कमजोरीमा नेतृत्व मात्र नभई आफूहरू पनि जिम्मेवार रहेको स्वीकार गर्दै पार्टीले आत्मालोचना गरिसकेको बताए।

शर्माले झापाका चिया उद्योगसँग सम्बन्धित समस्या संवादमार्फत समाधान गर्न सरकारसँग आग्रह गरे। साथै भूमिहीन सुकुम्बासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न, बाहुनडाँगी क्षेत्रमा बढ्दो जंगली हात्तीको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न तथा स्थानीय विकासका मुद्दामा सरकार गम्भीर बन्नुपर्ने धारणा राखे।

कार्यक्रममा सहभागी नेताहरूले संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध विस्तार, सुशासन, सामाजिक न्याय र स्थानीय समस्याको समाधानलाई कांग्रेसको आगामी राजनीतिक प्राथमिकताका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।