
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले उनलाई सोमबार दिउँसो पार्टी कार्यक्रमको सिलसिलामा सुर्खेतमा रहेका बेला नियन्त्रणमा लिएको हो । पौडेलले गरेको सेयर कारोबार र उनको सम्पत्तिको शंकास्पद स्रोतबारे थप अनुसन्धान अघि बढाउन नियन्त्रणमा लिइएको विभाग सम्बद्ध उच्च स्रोतले जनाएको छ ।
एमालेले सञ्चालन गरिरहेको प्रदेशस्तरीय पार्टी पुनर्गठन सुझाव संकलन कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिएर हाल जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ । उनलाई हवाई वा स्थलमार्गमध्ये उपयुक्त विकल्प रोजेर काठमाडौं ल्याउने तयारी भइरहेको उच्च प्रहरी स्रोतले उल्लेख गरेको छ ।
यसैबीच, विभागले पौडेललाई सुर्खेतमा नियन्त्रणमा लिनुअघि ललितपुरको भैंसेपाटीस्थित उनको निजी निवासमा छापा मारेको खुलेको छ । प्रहरीसहित पुगेको विभागको टोलीले निवासमा खानतलासी गरी अनुसन्धानका लागि आवश्यक ठानिएका केही महत्त्वपूर्ण कागजातहरू समेत नियन्त्रणमा लिएको स्रोतले बताएको छ । विभागले पौडेलमाथिको शंकास्पद वित्तीय कारोबारबारे सूक्ष्म अनुसन्धान अघि बढाएको छ ।










Facebook Comments