काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत एटलान्टा स्टेडियममा सम्पन्न समूह ‘एच’ को रोमान्चक खेलमा स्पेनले साउदी अरेबियामाथि ४-० गोलको फराकिलो जित दर्ता गरेको छ। खेलको सुरुवाती समयदेखि नै आक्रामक बनेको स्पेनका लागि १०औँ मिनेटमा युवा स्टार लामिन यामालले गोल गर्दै पहिलो अग्रता दिलाए।

त्यसपछि खेलको २१औँ र २४औँ मिनेटमा मिकेल ओयार्जाबलले लगातार दुई गोल गरेपछि स्पेनले पहिलो हाफमै ३-० को बलियो स्थिति बनायो। दोस्रो हाफको सुरुवातमै, अर्थात् ४९औँ मिनेटमा साउदीका खेलाडी हसन अल्ताम्बक्तिले आत्मघाती गोल गरेपछि स्पेनको जित ४-० ले सुनिश्चित भयो। यो जितसँगै दुई खेलबाट ४ अङ्क जोड्दै स्पेन समूह ‘एच’ को शीर्ष स्थानमा उक्लिएर नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ भने यसै समूहका उरुग्वे, साउदी र केप भर्डेको समान एक-एक अङ्क रहेको छ।

ad

यसै समूहको अर्को निकै प्रतिस्पर्धात्मक खेलमा, पहिलो खेलमा स्पेनलाई बराबरीमा रोकेर सनसनी मच्चाएको केप भर्डेले बलियो टोली उरुग्वेलाई पनि २-२ गोलको बराबरीमा रोक्न सफल भएको छ। अमेरिकामा नेपाली समयअनुसार सोमबार बिहान सम्पन्न खेलको २१औँ मिनेटमा गोल गर्दै केप भर्डेले सुरुवाती अग्रता लिएको थियो।

तर, पहिलो हाफमै पुनरागमन गरेको उरुग्वेले सुरुमा गोल फर्काउँदै इन्जुरी समयमा थप एक गोल गरी २-१ को अग्रता बनायो। दोस्रो हाफमा कडा टक्कर दिएको केप भर्डेले खेलको ६१औँ मिनेटमा दोस्रो गोल गर्दै खेललाई बराबरीमा ल्यायो र अङ्क बाँड्न सफल भयो। अब केप भर्डेले आफ्नो आगामी खेलमा साउदी अरेबियाको सामना गर्नेछ।

अर्कातर्फ, विश्वकपको समूह ‘जी’ अन्तर्गत गएराति सम्पन्न खेलमा बलियो टोली बेल्जियम र इरानबिचको प्रतिस्पर्धा गोलरहित बराबरीमा टुंगिएको छ। खेलको २७औँ मिनेटमा इरानले गरेको गोललाई रेफ्रीले अफसाइडको निर्णय दिँदै मान्यता दिएनन्।

दोस्रो हाफको ६७औँ मिनेटमा बेल्जियमका डिफेन्डर नाथक एनगोयले रातो कार्ड पाउँदै मैदान छाडेपछि बेल्जियम १० खेलाडीमा समेटिएर ठुलो दबाबमा परेको थियो। यद्यपि, रक्षात्मक रणनीति अपनाउँदै बेल्जियमले इरानका प्रहारहरूलाई असफल बनायो। फिफा वरीयतामा ९औँ स्थानमा रहेको बेल्जियम र २१औँ स्थानमा रहेको इरान दुवैको यो लगातार दोस्रो बराबरी हो; यसअघि बेल्जियमले इजिप्टसँग १-१ र इरानले न्युजिल्यान्डसँग २-२ को बराबरी खेलेका थिए। यो बराबरीसँगै दुवै टोलीले थप १-१ अङ्क बाँडेका छन्।