
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र शाह (बालेन)प्रति आफ्नो समर्थन रहेको संकेत गर्दै उनको भूमिकाप्रति विश्वास व्यक्त गरेका छन्।
रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै लामिछानेले केही व्यक्तिहरू बालेनको राजनीतिक भविष्यबारे विभिन्न अड्कलबाजीमा रहेको उल्लेख गरे। तर, आफूहरू बालेनलाई अवसर र समर्थन प्रदान गर्ने पक्षमा रहेको उनको भनाइ थियो।
“हामीले बल बालेनको खुट्टामा राखेका छौँ। अब त्यसलाई गोलमा परिणत गर्ने जिम्मेवारी उनकै हो,” उनले भने। “यदि कुनै कारणले त्यो बल मेरोतर्फ आइपुग्यो भने पनि म त्यसलाई इमान्दारीपूर्वक सही ठाउँमा पुर्याउने प्रयास गर्नेछु।”
लामिछानेले आफ्नो सम्बोधनमा पार्टीभित्रको एकताको विषयलाई पनि प्राथमिकताका साथ उठाए। उनले रास्वपालाई बाह्य चुनौतीभन्दा बढी आन्तरिक कमजोरीले असर गर्न सक्ने उल्लेख गर्दै गुटबन्दी र व्यक्तिगत स्वार्थबाट टाढा रहन नेता–कार्यकर्तालाई आग्रह गरे।
उनका अनुसार कुनै पनि नयाँ राजनीतिक शक्तिको सफलताका लागि संगठनात्मक एकता र साझा उद्देश्य आवश्यक हुन्छ। “हामीलाई बाहिरबाट कसैले कमजोर बनाउन सक्दैन। यदि पार्टी कमजोर हुन्छ भने त्यो हाम्रो आफ्नै कमजोरीका कारण हुनेछ,” उनले भने।
विगतका राजनीतिक दलहरूको अनुभवबाट पाठ सिक्नुपर्ने उल्लेख गर्दै उनले आन्तरिक विभाजन र गुट–उपगुटको संस्कृतिले संगठनलाई दीर्घकालीन रूपमा क्षति पुर्याउने चेतावनी दिए।
लामिछानेले पार्टीलाई जनविश्वासअनुसार अघि बढाउन सबै नेता–कार्यकर्ताले व्यक्तिगत आकांक्षाभन्दा संगठनको हितलाई केन्द्रमा राख्नुपर्ने धारणा पनि व्यक्त गरे।









Facebook Comments