
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा उम्मेदवारी दिन चाहने व्यक्तिले कम्तीमा ५१ जना समर्थकको हस्ताक्षरसहित मनोनयन दर्ता गर्नुपर्ने भएको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनका लागि जारी गरेको निर्वाचन कार्यविधिअनुसार सभापति पदका उम्मेदवारले एक जना प्रस्तावक र ५१ जना समर्थकको विवरण पेश गर्नुपर्ने व्यवस्था गरिएको हो। प्रस्तावक तथा समर्थकको नाम, ठेगाना, सम्पर्क नम्बर र हस्ताक्षर अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ।
त्यस्तै, पदाधिकारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारले भने एक जना प्रस्तावक र २१ जना समर्थकसहित मनोनयन दर्ता गर्नुपर्ने प्रावधान राखिएको छ। उनीहरूको नाम, फोन नम्बर र हस्ताक्षर पनि अनिवार्य गरिएको निर्वाचन आयोगले जनाएको छ।
कार्यविधिअनुसार एक जना प्रस्तावकले एकभन्दा बढी उम्मेदवारको प्रस्तावक बन्न पाउने छैनन्। तर समर्थकका रूपमा भने एउटै व्यक्तिले एकभन्दा बढी उम्मेदवारलाई समर्थन गर्न सक्ने व्यवस्था गरिएको छ।
महाधिवेशनलाई व्यवस्थित र पारदर्शी बनाउन उम्मेदवारी सम्बन्धी मापदण्ड स्पष्ट गरिएको आयोगको भनाइ छ।









Facebook Comments