
चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्तालाई नेताप्रति अन्धभक्ति नगरी गल्ती हुँदा खुलेर प्रश्न गर्न आग्रह गरेका छन्। उनका अनुसार कुनै पनि राजनीतिक संगठनलाई सही मार्गमा राख्ने आधार आन्तरिक आलोचना, आत्मसमीक्षा र जवाफदेहिता हो।
रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै थापाले कांग्रेसले आफ्ना कमजोरी सच्याउन समयमै पहल गर्न नसकेको स्वीकार गरे। त्यही अनुभवबाट सिक्दै रास्वपाले गल्तीलाई बेवास्ता नगर्नुपर्ने उनको सुझाव थियो।
“नेताले गल्ती गर्दा प्रश्न गर्ने साहस राख्नुस्। हामीले त्यही काम ढिलो गर्यौँ, तपाईंहरूले त्यस्तो गल्ती नदोहोर्याउनुस्,” उनले भने।
थापाले रास्वपाले छोटो अवधिमै प्राप्त गरेको जनसमर्थनलाई नेपाली राजनीतिमा दुर्लभ उपलब्धिका रूपमा व्याख्या गरे। चार वर्षमै हासिल भएको जनमतले जनताको ठूलो अपेक्षा र विश्वास झल्काएको उनको भनाइ थियो।
“यति छोटो समयमा यति ठूलो जनमत पाउनु सामान्य विषय होइन। यसले जनताले तपाईंहरूमाथि राखेको आशा र भरोसा देखाउँछ,” उनले उल्लेख गरे।
यद्यपि, इतिहासमा जनताले दिएका अवसरहरू नेतृत्वको अहंकार, आन्तरिक कलह र सत्तामोहका कारण खेर गएको स्मरण गराउँदै थापाले रास्वपालाई त्यस्ता कमजोरीबाट सतर्क रहन आग्रह गरे।
“नयाँ शक्तिलाई जनताले पटक–पटक अवसर दिएका छन्। तर नेतृत्वबीचको टकराव र सत्ताको उन्मादले ती अवसरहरू गुमेका उदाहरण धेरै छन्। रास्वपाले त्यो बाटो नसमाओस् भन्ने हाम्रो चाहना हो,” उनले भने।
राजनीतिक प्रतिस्पर्धा स्वस्थ र सकारात्मक हुनुपर्नेमा जोड दिँदै थापाले अर्को दललाई कमजोर बनाएर आफूहरू बलियो बन्ने सोच कांग्रेसको नभएको स्पष्ट पारे।
“हामी अरूको खुट्टा तानेर माथि उक्लिन चाहँदैनौँ। आफ्ना कमजोरी सुधारेर र राम्रो काम गरेर जनताको विश्वास जित्न चाहन्छौँ,” उनले बताए।
संसदीय लोकतन्त्रमा विपक्षीको भूमिका केवल विरोधमा सीमित नहुने उल्लेख गर्दै उनले सरकारले राम्रो काम गर्दा समर्थन र गलत निर्णय गर्दा प्रतिवाद गर्नु नै लोकतान्त्रिक संस्कार भएको बताए।
आफ्नो पार्टीप्रति आत्मालोचना गर्दै थापाले विगतमा कांग्रेस सत्ता, गठबन्धन र चुनावी गणितमा बढी केन्द्रित भएको स्वीकार गरे। अहिले भने पार्टीभित्र सुधार, पुनर्संरचना र आत्मसमीक्षाको आवश्यकता महसुस गरिएको उनको भनाइ थियो।
“हामी अहिले अरूसँगभन्दा बढी आफ्नै कमजोरीसँग जुधिरहेका छौँ। बाहिरी प्रतिस्पर्धाभन्दा पहिले आन्तरिक सुधार आवश्यक छ भन्ने निष्कर्षमा पुगेका छौँ,” उनले भने।
लोकतन्त्रलाई सुदृढ बनाउन राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा, आत्मसुधार र जनताप्रतिको उत्तरदायित्व अपरिहार्य रहेको उल्लेख गर्दै थापाले रास्वपाको महाधिवेशन सफलताको शुभकामना व्यक्त गरे।









Facebook Comments