काठमाडौं । रास्वपाले गरेको निम्तो स्वीकार्दै रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुनका लागि नेपाली कांग्रेसका सभापति गगन कुमार थापा चितवन पुगेका छन् ।

यस अगाडि सामाजिक सञ्जालमार्फत सभापति थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सभापति रवि लामिछानेलाई शुभकामना दिएका छन्।

ad

सभापति थापाले रास्वपा स्थापनाको छोटो अवधीमै रास्वपाले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको उल्लेख गर्दै तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय भएको लेखेका छन् । 

उनले  रास्वपाको यो महाधिवेशन विचार, संगठन र नीतिका दृष्टिले अझै परिपक्व, जिम्मेवार र दुरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर रहेको बताए।

यो महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु, सभापति थापाले लेखेका छन्।

महाधिवेशनमा सहभागी हुन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता प्रदीपकुमार ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रमस्थलमा पुगिसकेका छन् ।

यसैगरी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत चितवन पुगिसकेका छन् ।