दामी बोलको एउटा गीत सुनेको थिए– 

‘बेहोसपछि त होसमा आउँदा, क्या दामी भो’

ad

कसैले पिलाएको मायाको नसाले बिमारी परेको ऊ 

त्यो नसाबाट उत्रिँदाको अवस्था क्या दामी भो !

 

निराहार बसेर दिनभरिको अनुष्ठान सकेको एउटा वयोवृद्ध

त्यो वयोवृद्धको फोटोमा एउटा प्रतिक्रिया–

‘क्या दामी !!!’

 

शब्दकोषले दिएको दामीको अर्थ– 

धेरै मोल पर्ने, महँगो, बहुमूल्य

तद्भव, अर्थात् संस्कृत शब्द ‘दाम’बाट व्युत्पन्न भएको

बोलीचालीको भाषामा दामीको अर्थ अलि हल्काफुल्का नै

मनोरञ्जनात्मक यात्राको वरपर 

कति वर, कति पर ?

शब्द चयनकर्ताको लहडको सेरोफेरोसँग आबद्ध  । 

 

यस्ता शब्द–

धेरै छाप्ने प्रयोगमा आएको अक्षर घिसिएको जस्तो 

कहिले बुझिने, कहिले नबुझिने

निरस भएको 

शब्द निरस या उदास पनि हुन्छ र ?

हुन्छ, निश्चित रूपमा हुन्छ

चयनकर्ताको उक्लिएको या ओर्लिएको भावको सर्गअनुसार

जसरी शब्द नाचिरहेको हुन्छ, बोलिरहेको हुन्छ 

त्यसै गरी उदास पनि हुन्छ  ।

 

रुखको हाँगामा पातले लपेटिएर बसेको नांगो चरी

पिलुवालाई खुवाउने आहाराको सुर्तामा

पहराको कापबाट टाउको उठाएको चकोर

चन्द्रमाको किरण पिउनका लागि

तिनीहरूको पनि आवाज हुन्छ अस्तित्वको 

भावभंगी, मैथुन र समागमको  ।

 

मान्छे त विवेकशील प्राणी, सृष्टिको शिखर

ऊ भित्र सृष्टि–ज्ञानको महासागर लुकेको छ

जे देखिन्छ त्यो त ‘आइसबर्गको टुप्पो’जस्तो मात्र

जे जानेको छ त्यो पनि ‘आइसबर्गको टुप्पो’ जस्तो मात्र

त्यसैले मान्छेको मनभित्र लुकेको

या खुलेको भाव 

केवल मनभित्रै हुन्छ

शब्दले प्रकाशमा नल्याएसम्म  ।

 

वर्ण मिलेर बनेको प्रत्येक शब्द अर्थपूर्ण हुन्छ

त्यसका अभिव्यञ्जनामा लय र ताल दिने 

स्वर र शारीरिक भाषाले हो

तर टेक्स्ट अर्थात् पाठमा यी हुँदैनन् 

त्यसैले लेखिएको शब्दबाट मात्र बुझ्न झन् गाह्रो हुन्छ  ।

 

मान्छेको मनभित्रको भाव जब लेखिन्छ 

त्यो भावलाई उसले कति प्रकाश गर्छ, कति लुकाउँछ 

देखिएको कति राम्रो भाव, लुकाएको कति ईष्र्या भाव 

अर्थात् कति सद्भाव, कति दुष्भाव

यसको संयोजन मिलाउन खोज्दा 

शब्द त्यही भएर पनि सन्दर्भ फरक हुन सक्छ 

अनि जति गरे पनि ‘ब्ल्याक एन्ड ह्वाइट’ मिलाउन नसकिने हुन्छ

यहाँनिर कल्पनाको होइन 

प्रकल्पनाको कुरा आउँछ

कल्पनाले काव्यको आकाशमा उडाउँछ 

प्रकल्पनाले सामथ्र्यहीन कुण्ठाको गोरेटोमा हिँडाउँछ  ।

 

शब्द चयन गर्दा नियत आबद्ध हुन पुग्छ

अनि त्योसँग मेल खाने शब्द–सुन्दरीहरू आइरहेका हुन्छन् 

प्रतिस्पर्धा गर्दै भनिरहेका हुन्छन्–

मलाई प्रयोग गर, मलाई 

चयनकर्ता भन्छ– 

तिमी हुन्न, तिमी हुन्न 

म अर्को खोज्छु 

चयनकर्ता शाब्दिक तन्त्रमन्त्रको धामी हुन खोज्दा 

दामी, दामी शब्द खोज्न पुग्छ  ।