प्रतिभा पारिश्रम होइन, यसमा सन्देह छैन । पारिश्रम गरेर प्रतिभा आउने भए, कसले गर्दैन थियो होला ? 

प्रतिभा अमूल्य हुन्छ । यो पनि मानँे । अभिव्यक्त गर्नु पनि पारिश्रम हो, तर त्यो पनि अमूल्य हुन्छ । मान्दछु । तर प्रतिभा जसमा उत्पन्न हुन्छ, त्यो को हो ? 

ad

त्यो मुनष्य हो । मनुष्यलाई ती सब आवश्यक हुन्छन्, जुन कुनै पनि मनुष्यलाई आवश्यक हुन्छ । यहीँ आएर कोहीकोही अडिन्छन् । ती प्रतिभालाई अमूल्य मान्दै, नजानिँदो गरी अमूल्यको अर्थ मूल्य दिन मानिरहेका हुन्छन् । 

मैले एक विद्वान्लाई कुनै बखत यस्तो भनेको सुनेको छु– ‘म साहित्यमा दुई पैसा पनि खर्च गर्दिनँ ।’ ती अन्य क्षेत्रका विद्वान् हुन् । तिनलाई मैले सधैँ नमस्कार गर्छु । तर तिनको उक्त भनाइसित म कहिल्यै सहमत हुन सकिनँ ।’ अहिले पनि यस्तो भन्ने मान्नेहरू यदाकदा भेटिन्छन् । 

सुरुदेखि नै लेखकहरूको भनाइ हुन्थ्यो, छाप्दा कागज प्रेस सबको खर्च जोडिन्छ, तर कलमलाई जोडिन्न । त्यो अमूल्य मानेर बसिन्छ । लेखनबाट पेट नभरोस्, तर त्यसको अमूल्यतालाई दैवी नबनाइयोस् । यसरी त लेखनको अवमूल्यन नै हुन्छ । लेखकको अपमान पनि हो यो । 

म त्यस बेलादेखि लेख्दै, आइरहेको छु, जब छापिनुलाई नै पारिश्रमिक भनेर प्रशन्न हुनुपर्दथ्यो । एउटा अनौठो कुरा हो नि यो ? तर, त्यस्तै थियो । २०२७ सालमा मधुपर्क पत्रिकाले पहिलोपटक रु २५ रुपैयाँ पारिश्रमिक दिन थालेपछि मैले पहिलोपटक संकट नामक कथा मधुपर्कको प्रथम अंकमा छापिएपछि पारिश्रमिकको ‘स्वाद’लिएँ । त्यो एक घटना थियो । मधुपर्कमै सीमित भयो । लेखक यसमाथि नयाँ लेखक, आफ्नो रचनाको प्रकाशनमा उत्साहित हुने गर्दथ्यो । म पनि त्यसैमा पर्दथेँ । 

मधुपर्कमा जति मेरा रचना प्रकाशित भए, तिनको पारिश्रमिक पाइन्थ्यो । मेरो पारिश्रमिकको थालनी त्यही थियो । 

निकैपछि रूपरेखाले पनि रु २५ पारिश्रमिक दिन थाल्यो । 

साझा प्रकाशनले गरिमा छाप्न थालेपछि त्यसले पनि पारिश्रमिक दिन थाल्यो । त्यसछि एकेडेमीले पत्रिका प्रकाशन गर्न थालेपछि, त्यहाँ पारिश्रमिक पाइन थाल्यो । 

अचेल प्रायः पारिश्रमिक पाइन्छ, तै पनि अनिवार्य रूपमा होइन । अझै पनि, मित्रतावश रचना निःशुल्क दिनुपर्ने हुन्छ । 

राष्ट्र बैंक, वाणिज्य बैंकले पनि पत्रिका छाप्दा पारिश्रमिक दिन्थ्यो । 

यस्तै, पृष्ठभूमिमा म आफ्नो कथाको पारिश्रमिकको कुरा गर्न चाहन्छु । मेरा कृतिहरू विश्वविद्यालयमा पढाइ हुन्छन् प्रायः । एकपटक कसैले सोध्यो, रोयल्टी पाइँदो होला नि ? 

मैले भने– ‘पाठ्यक्रममा राखेको सूचना त पाइन्न, रोयल्टी के पाइन्छ ?’

अचेल देख्दछु, सुन्दछु, मोबाइलमा कहिलेकाहीँ, आजदेखि हामी धारावाहिक रूपमा धु्रवचन्द्र गौतमको यो कृतिको पाठ गर्न थाल्दछौँ ।’ त्यसैगरी पारिजातको शिरीषको फूल’को धारावाहिक पाठ गरेको थाहा छ । थाहा छैन भने यही लेखकलाई पारिश्रमिक त के सूचना दिने पनि आवश्यकता ठान्दैनन् । यो के हो ? 

म प्रायः लेखक संघका पदाधिकारीहरूलाई भन्दछु, कपी राइटको उचित कानुन बनाउनतिर ध्यान दिनुस् ।’ तर अहिलेसम्म कसैले ध्यान दिएको थाहा छैन । यो उचित आवाजलाई कोही सुन्न चाहेको देखिन्न । 

कतिजना ठान्दा हुन्– तिम्रो रचना पाठन गरिन्छ, त्यही महत्वपूर्ण कुरो हो । तर, मलाई महत्वपूर्ण लाग्दैन । मैले एउटा त्यस्तै गोष्ठीमा बोल्दा भनेको थिएँ– जुन लेखक शोषणविरुद्ध लेख्छ, त्यही शोषित भइरहेको छ । 

सबले सही थापे । पदाधिकारी पनि थिए । तिनले मन्त्रालयमा केही नियम बनाउने वाचा पनि गरे । तर, गोष्ठीको वाचा, गोष्ठीमै सीमित भयो । 

विश्वविद्यालय, स्कुल बोर्डले मेरो यो रचना राखेको छ वा यो हटाए र त्यो राखेको छ, सबको सूचना, कुनै विद्यार्थीले वा शिक्षकले अचानक भेट हुँदा दिएर मैले पाएको छु । 

अहिले धेरै दिन भयो, कोही भेटिएको छैन, जसले मेरो कुन रचना राखेको हटाएको सूचना देओस् । एउटा उदाहरण, ‘स्वाद’शीर्षकको मेरो कथाको छ । रमाइलो छ । 

केही समयअगि, वीरगंज उद्योग वाणिज्य संघले मलाई र गणेश लाठलाई सम्मानित गर्ने भयो । सिमरामा एक शिक्षिका पनि थिइन् गाडीमा मलाई वीरगंजसम्म पु¥याउँदा । त्यस बखत, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ता थिए । उनैको समयमा सम्मान कार्यक्रम भएको थियो । 

त्यसदिन सिमराबाट वीरगंज जाँदा, ती शिक्षिकाले बताइन्, मेरो ‘स्वाद’कथा, कक्षा नौको पाठ्यक्रममा राखिएको छ । 

खुसी त लाग्यो, दुःख पनि लाग्यो, मेरो कथा राखिएको सूचना अन्यबाट पाउनुप¥यो । ती शिक्षिका भेट नभएकी भए, म अझै असूचित नै रहन्थेँ । 

एक दिन माया ठकुरीले, स्कुलले पठाएको भनेर मलाई पारिश्रमिक रु १००० दिइन् । 

त्यसैगरी एकपटक एकजना आएर स्वादको प्रश्नोत्तर गरे क्यामेरामा पनि उतारे । जाने बेलामा उनले मलाई रु ५००० पारिश्रमिक दिए । यो अप्रत्याशित थियो । 

केही समयअगि ‘स्वाद’कथाबारे विद्यार्थीसँग अन्तरक्रियापछि काष्ठमण्डप स्कुलले रु ५०००को खाम दिएको थियो । 

एकपटक पूर्वपरिचित कलाकार मनोज गजुरेल र जयन्त रेग्मी आए । स्वादको टेलिचलचित्र बनाउने भनेर तिनले साइनिङ अमाउन्टका रूपमा करार गरेर रु १०,००० रुपैयाँ दिएर गए । फिल्म बन्यो कि बनेन थाहा भएन, तर ती कलाकार उत्साहित थिए । नबनेको भए, बनाउलान् । 

अब अन्तिम कुरा । मैले डेढ सयभन्दा बढी कथा लेखेँ हुँला । कतिमा पाइयो, पारिश्रमिक कति पाइएन । तर ‘स्वाद’कथामा मैले पाएको पारिश्रमिक लगभग रु २१,५०० रुपैयाँ । एउटै कथाका लागि अन्य कुनै कथाले पाएन, यद्यपि ‘स्वाद’मेरो एक मात्र सर्वश्रेष्ठ कथा हो भनेर म भन्दिनँ, तर सर्वश्रेष्ठ पारिश्रमिक दिलाउने कथा भने बन्न पुग्यो ।