
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको महाधिवेशनलाई स्वस्थ, मर्यादित र स्वच्छ प्रतिस्पर्धाको माध्यम बनाउन आग्रह गरेका छन्। महाधिवेशनको पूर्वसन्ध्यामा चितवनमा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्दै पार्टीलाई थप सशक्त बनाउने अवसरका रूपमा महाधिवेशनलाई लिनुपर्ने बताएका हुन्।
लामिछानेले नेतृत्व चयन वा आन्तरिक प्रतिस्पर्धाभन्दा पनि पार्टीको भविष्य र नागरिकको अपेक्षा महत्त्वपूर्ण रहेको उल्लेख गरे। उनले स्वच्छ प्रतिस्पर्धाबाट प्राप्त हुने परिणामलाई सबैले सहज रूपमा स्वीकार गर्नुपर्ने भन्दै महाधिवेशनपछि पनि पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।
“निर्वाचनबाट जुनसुकै परिणाम आए पनि हामी जिम्मेवार राजनीतिक शक्ति र जिम्मेवार नागरिकका रूपमा प्रस्तुत हुनुपर्छ,” उनले भने। हालसम्म आफ्नो नेतृत्वमाथि विश्वास गरेर साथ दिएका नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा पनि पार्टीलाई बलियो बनाउने साझा दायित्व सबैको रहेको बताए।
सभापति लामिछानेले पछिल्ला चार वर्ष आफ्नो राजनीतिक जीवनका लागि चुनौतीपूर्ण र शिक्षाप्रद रहेको उल्लेख गर्दै व्यक्तिगत संघर्ष र अनुभवबारे धेरै व्याख्या गर्न आवश्यक नभएको बताए। उनले आफूहरू निरन्तर जनताको निगरानी र सार्वजनिक परीक्षणमा रहेको स्मरण गराउँदै पारदर्शिता, जवाफदेहिता र इमानदारीलाई पार्टीको मूल आधार बनाउनुपर्ने धारणा राखे।
उनले रास्वपाप्रति नागरिकको भरोसा बढ्दै गएको दाबी गर्दै अब पार्टीको जिम्मेवारी झन् ठूलो बनेको बताए। जनताले सुशासन, समृद्धि र सामाजिक न्यायको अपेक्षासहित रास्वपालाई हेरेको उल्लेख गर्दै ती अपेक्षा पूरा गर्न नेतृत्व र कार्यकर्ता सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनको भनाइ थियो।
लामिछानेले महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रिया नभई पार्टीको वैचारिक, संगठनात्मक र राजनीतिक सुदृढीकरणको अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए। उनले आपसी सम्मान, अनुशासन र एकतामार्फत रास्वपालाई नयाँ उचाइमा पुर्याउन सकिने विश्वास व्यक्त गरे।
रास्वपाको महाधिवेशन नजिकिँदै जाँदा सभापति लामिछानेको यो सन्देशलाई पार्टीभित्र एकता कायम राख्ने र लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ।










Facebook Comments