प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको १०० दिने कार्यसम्पादनको औपचारिक समीक्षा गर्ने निर्णय गरेको छ। शनिबार सिंहदरबारमा बसेको संसदीय दल कार्यसमिति बैठकले सरकारका प्रतिबद्धता, कार्यान्वयन अवस्था तथा उपलब्धिको वस्तुगत मूल्यांकन गरी पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने निष्कर्ष निकालेको हो।

संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सम्पन्न बैठकमा सरकार गठनपछिका १०० दिनमा भएका कामकारबाहीको विस्तृत विश्लेषण गर्ने विषयमा छलफल भएको थियो। कांग्रेसले सरकारका घोषणा र व्यवहारिक उपलब्धिबीचको अन्तरबारे स्पष्ट धारणा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

ad

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले सरकारका वाचा र कार्यान्वयनको वास्तविक अवस्थालाई आधार बनाएर संसदीय दलले आफ्नो निष्कर्ष सार्वजनिक गर्ने बताए। उनले जनअपेक्षा अनुरूप सरकारको कामकारबाही भए नभएको विषयमा पनि समीक्षा गरिने जानकारी दिए।

बैठकले पार्टी र संसदीय दलबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने निर्णय समेत गरेको छ। राष्ट्रिय महत्वका मुद्दा तथा जनजीविकासँग सम्बन्धित विषयहरू संसद्मा सशक्त रूपमा उठाउन सांसदहरूलाई आवश्यक सहयोग र सहजीकरण गरिने कांग्रेसको भनाइ छ।

महामन्त्री पौडेलले संसदीय दलको प्रभावकारिता बढाउनु र पार्टीसँगको सहकार्यलाई व्यवस्थित बनाउनु वर्तमान प्राथमिकता रहेको उल्लेख गर्दै जनताको आवाजलाई संसद्सम्म प्रभावकारी ढंगले पुर्‍याउन पार्टी प्रतिबद्ध रहेको बताए।

प्रतिपक्षको भूमिका प्रभावकारी नभएको भन्ने आलोचनाप्रति प्रतिक्रिया दिँदै उनले कांग्रेसले सरकारका गतिविधिमाथि निरन्तर निगरानी र खबरदारी गर्दै आएको दाबी गरे। संसद्मा पार्टीका सांसदहरूले सक्रिय रूपमा जनसरोकारका विषय उठाइरहेको उनको भनाइ थियो।

सरकारले प्रतिपक्षका सुझाव र आवाजलाई बेवास्ता गरे त्यसको अन्तिम मूल्यांकन जनताले गर्ने पौडेलको तर्क छ। साथै, पार्टीभित्र देखिएका असन्तुष्टि र व्यवस्थापनका चुनौतीबारे बोल्दै उनले ठूलो र लामो राजनीतिक इतिहास भएको दलमा यस्ता विषय स्वाभाविक रहेको बताए।