
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुशासन र पारदर्शिताको बहसलाई मुलुकको राजनीतिक एजेन्डाको केन्द्रमा राख्नुपर्ने बताएका छन्।
काठमाडौंमा आयोजित ‘सम्पत्ति छानबिन, सुशासन र विधिको शासन’ विषयक कार्यक्रममा उनले पछिल्लो निर्वाचनमा सुशासन नागरिकको प्रमुख चासोको विषय बनेको उल्लेख गर्दै कांग्रेसभित्र पनि यस विषयलाई स्थापित गर्न लामो समयदेखि प्रयास हुँदै आएको बताए। उनका अनुसार राजनीतिक दलहरूले जनविश्वास कायम राख्न पारदर्शिता र जवाफदेहितालाई व्यवहारमै उतार्न आवश्यक छ।
थापाले नेपालमा भ्रष्टाचार नयाँ समस्या नभए पनि समयसँगै यसको स्वरूप र प्रभाव बढ्दै गएको धारणा राखे। भ्रष्टाचारका कारण मुलुकको विकास र सुशासन प्रभावित भएको उल्लेख गर्दै उनले सार्वजनिक पदमा पुगेका व्यक्तिहरूमाथि अधिकारको दुरुपयोग तथा अवैध सम्पत्ति आर्जनसम्बन्धी प्रश्न बारम्बार उठ्ने गरेको बताए।
उनका अनुसार नागरिक समाजमा राजनीतिक पहुँच भएका व्यक्तिहरूले सार्वजनिक पदको दुरुपयोग गरी अवैध सम्पत्ति जोड्ने र त्यसलाई वैध देखाउने प्रयास गर्ने प्रवृत्तिप्रति व्यापक चिन्ता रहेको छ।
थापाले यस्ता गतिविधिमाथि निगरानी र नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संवैधानिक निकाय स्थापना गरिए पनि कानुनी जटिलता, सीमित अधिकार र नियुक्ति प्रक्रियामा देखिने स्वार्थका प्रश्नले संस्थाको प्रभावकारितामाथि बेला–बेलामा शंका उत्पन्न हुने गरेको बताए।
उनले नागरिक तहमा अख्तियारको निगरानीभित्र पर्ने सार्वजनिक पदाधिकारीहरू नै अवैध सम्पत्ति आर्जनका आरोपमा बढी जोडिने गरेको धारणा बलियो बन्दै गएको उल्लेख गरे। यस्तो अवस्थाले सुशासनसम्बन्धी संस्थाहरूप्रति जनविश्वास कमजोर बनाउने जोखिम रहेको उनको भनाइ थियो।
कार्यक्रममा थापाले सुशासनको लक्ष्य हासिल गर्न सम्पत्ति छानबिन प्रक्रियालाई निष्पक्ष, प्रभावकारी र विश्वसनीय बनाउनु अपरिहार्य रहेको बताए। साथै, कानुनी संरचना र निगरानी संयन्त्रलाई थप सुदृढ बनाउँदै सार्वजनिक पदमा रहेका व्यक्तिहरूको जवाफदेहिता सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए।










Facebook Comments