नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिने निर्णय गरेको हो।

कैलाली निवासी भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्। वित्तीय तथा पुँजीबजार क्षेत्रको लामो अनुभव भएका उनी सेयर बजारसम्बन्धी विषयमा विद्यावारिधि हासिल गरेका व्यक्ति हुन्।

ad

अध्यक्ष छनोट प्रक्रियाका क्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले सम्भावित स्वार्थको द्वन्द्व हुन सक्ने भन्दै छनोट समितिबाट आफू अलग भएको घोषणा गरेका थिए।

धितोपत्र बोर्डको अध्यक्ष पद तत्कालीन अध्यक्ष सन्तोष नारायण श्रेष्ठको राजीनामापछि रिक्त रहेको थियो। श्रेष्ठ २०८१ मंसिर १० गते चार वर्षे कार्यकालका लागि नियुक्त भएका भए पनि कार्यकाल पूरा हुनुअघि नै पदबाट बाहिरिएका थिए।

नयाँ अध्यक्षको नियुक्तिसँगै लामो समयदेखि नेतृत्वविहीन बनेको बोर्डले अब पुँजीबजारका नीतिगत तथा नियामकीय कामलाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।