
उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा आरोपित व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। शुक्रबार भएको बयान तथा थुनछेक बहसपछि न्यायाधीश ऋषि राजभण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले उक्त निर्णय सुनाएको हो।
भट्ट र अग्रवालविरुद्ध ४२ करोड १४ लाख रुपैयाँभन्दा बढी रकमको बैंकिङ कसुर गरेको आरोपमा मुद्दा दर्ता भएको छ। अभियोजन पक्षका अनुसार उनीहरूले बैंकबाट लिएको कर्जा निर्धारित उद्देश्यभन्दा फरक प्रयोजनमा प्रयोग गर्दै आर्थिक अनियमितता गरेका थिए।
अभियोगपत्रमा उल्लेख भएअनुसार जगदम्बा स्टील्सका लागि स्वीकृत ‘वर्किङ क्यापिटल लोन’को रकम इन्फिनिटी होल्डिङ्समार्फत हिमालयन रि–इन्स्योरेन्समा लगानी गर्न तथा जग्गा खरिदका लागि बैना रकम उपलब्ध गराउन प्रयोग गरिएको आरोप छ। यस क्रममा बैंकलाई वास्तविक तथ्य लुकाएर कर्जाको दुरुपयोग गरिएको दाबी सरकारी पक्षले गरेको छ।
उनीहरूमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत कारबाहीको माग गरिएको छ।
यसअघि सम्पत्ति शुद्धीकरणसम्बन्धी छुट्टै मुद्दामा पनि भट्ट र अग्रवालविरुद्ध २६ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै विशेष अदालतमा अभियोगपत्र दायर गरिएको थियो। उक्त मुद्दामा पनि विशेष अदालतले दुवैलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
बैंकिङ कसुर मुद्दामा सह–प्रतिवादी रहेका व्यवसायी साहिल अग्रवाल र शंकरलाल अग्रवाल भने हाल फरार रहेको अभियोजन पक्षले जनाएको छ।
यसबाहेक धितोपत्र तथा बिमा ऐन उल्लंघनसम्बन्धी अर्को मुद्दामा भट्ट, सुलभ अग्रवाल तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छासहितका व्यक्तिविरुद्ध काठमाडौं जिल्ला अदालतमा समेत अभियोगपत्र दर्ता भइसकेको छ।









Facebook Comments