साइप्रसमा बन्धक परेका धादिङका २१ वर्षीय उज्जवल कुँवरकाे उद्धार गरी स्वदेश फर्काइएकाे छ। बिहीबार नेपाल आइपुगेका कुँवरको उद्धारका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले संसदमा निरन्तर आवाज उठाएकी थिइन्।

सांसद तामाङले असार २ गतेदेखि संसदमा उनको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्धारको माग गर्दै आएकी थिइन्। वैदेशिक रोजगारीको प्रलोभनमा साइप्रस पुगेका कुँवरलाई त्यहाँ एक पाकिस्तानी नागरिकले नियन्त्रणमा राखेर कुटपिट तथा मानसिक यातना दिएको जानकारी सार्वजनिक भएपछि उनको विषय चर्चामा आएको थियो।

ad

धुनिवेशी नगरपालिका–४ का बासिन्दा कुँवर जेठ २८ गते नेपालबाट यूएई र टर्की हुँदै साइप्रस पुगेका थिए। प्रारम्भिक चरणमा कुनै असामान्य व्यवहार नदेखिए पनि दोस्रो दिनदेखि आफूलाई परिवारसँग सम्पर्क गराई ठूलो रकम माग्न दबाब दिइएको उनले बताएका छन्।

उनका अनुसार परिवारसँग १२ लाख रुपैयाँ मागिएको थियो। रकम जुटाउन नसक्दा आफूलाई लगातार मानसिक दबाब, धम्की र दुर्व्यवहार सहनुपरेको थियो। उनले परिवारलाई आफू समस्यामा परेको जानकारी दिएपछि आफन्तहरूले प्रहरी तथा सम्बन्धित निकायसँग सहयोग मागेका थिए।

उज्जवलकी दिदी दुर्गा कुँवरका अनुसार परिवारले तत्काल माग गरिएको रकम जुटाउन सक्ने अवस्था थिएन। त्यसैले कानुनी र कूटनीतिक माध्यमबाट उद्धारको पहल गरिएको थियो। सांसद आशिका तामाङसमक्ष पनि सहयोगको अनुरोध गरिएपछि उनले संसदमा विषय उठाएकी थिइन्।

यसबीच सामाजिक सञ्जाल र सार्वजनिक बहसमा घटनाले स्थान पाएपछि साइप्रसमै रहेका व्यक्तिहरूले अन्ततः उनलाई नेपाल फर्किने टिकट उपलब्ध गराएको उज्जवलले बताएका छन्। टिकटमा नेपालको गन्तव्य देखेपछि आफूले पुनः जीवन पाएको अनुभूति गरेको उनको भनाइ छ।

नेपाल आइपुगेपछि उनले वैदेशिक रोजगारीका नाममा आकर्षक प्रस्ताव देखेर हतारमा निर्णय नगर्न युवाहरूलाई आग्रह गरेका छन्। कम लगानीमा विदेश पठाइदिने आश्वासनको पछि लाग्दा ठूलो जोखिममा पर्न सकिने अनुभव आफूले भोगेको उनले बताए।

कक्षा ११ सम्म अध्ययन गरेका उज्जवल नेपालमै कुकको काम गर्दै आएका थिए। आर्थिक अवस्था कमजोर भएकाले विदेश जाने निर्णय गरेको बताउँदै उनले अब वैदेशिक रोजगारीका प्रक्रिया, कागजात र एजेन्टहरूको विश्वसनीयता राम्रोसँग बुझेर मात्र अघि बढ्नुपर्ने पाठ सिकेको बताए।