काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ। शुक्रबार न्यायाधीश आत्मदेव जोशीको इजलासले सरकारी पक्षको निवेदन स्वीकार गर्दै उक्त आरोप हटाउने आदेश जारी गरेको हो।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अभियोगपत्र संशोधनका लागि निवेदन दर्ता गरेको थियो। सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ अनुसार लामिछानेसहित अन्य प्रतिवादीमाथि लगाइएको संगठित अपराधको कसुर फिर्ता लिन स्वीकृति दिएको हो।

ad

यसअघि पनि कास्की, पर्सा, रुपन्देही र चितवन जिल्ला अदालतहरूले लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएका थिए।

काठमाडौं जिल्ला अदालतको पछिल्लो आदेशसँगै रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा दायर भएका संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरू समाप्त भएका छन्। यद्यपि, सहकारी ठगीसम्बन्धी मुद्दाको कानुनी प्रक्रिया भने यथावत् रहनेछ।