नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको योगदान मुलुकको अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण रहेको भन्दै उनीहरूको रोजगारीलाई सुरक्षित, व्यवस्थित र सम्मानजनक बनाउन राज्य तथा सरोकारवाला सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन्।

काठमाडौंमा आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारण सभा तथा निर्वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण (रेमिट्यान्स) ले नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

ad

महामन्त्री पौडेलले लाखौं नेपाली श्रमिकको मेहनत र पसिनाले देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा उल्लेखनीय योगदान पुगेको भन्दै उनीहरूको श्रमको सम्मान र अधिकारको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे। उनले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका नीतिगत तथा व्यवहारिक समस्याको समाधान गर्दै श्रमिकहरूको हित सुनिश्चित गर्न नेपाली कांग्रेस निरन्तर सक्रिय रहने बताए।

उनले वैदेशिक रोजगार व्यवसायलाई अझ विश्वसनीय, पारदर्शी र सेवामुखी बनाउन व्यवसायीहरूलाई लोकतान्त्रिक मूल्य–मान्यताको अनुसरण गर्न आग्रह गर्दै श्रमिकमैत्री वातावरण निर्माणमा सबैले योगदान पुर्‍याउनुपर्नेमा जोड दिए।