शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न कानुन संशोधन, नयाँ विधेयक तर्जुमा तथा नियुक्तिसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ को पूर्व व्यवस्था पुनः कायम गर्ने सम्बन्धी विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ।

त्यसैगरी, नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा कैलालीका डा. गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ।

ad

बैठकले सहकारी क्षेत्रको कानुनी संरचनालाई थप व्यवस्थित बनाउन प्रचलित कानुन संशोधन तथा एकीकरणका लागि विधेयक तर्जुमाको सिद्धान्त स्वीकृत गरेको छ। सञ्चारमन्त्री विक्रम तिमिल्सिनाका अनुसार मन्त्रिपरिषद्ले कुल ६ वटा निर्णय गरेको हो।

मन्त्रिपरिषद्का निर्णयहरू

१. नेपाल विशेष सेवा ऐन, २०४२ को पूर्व व्यवस्था पुनर्स्थापना गर्ने सम्बन्धी विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति।

२. नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्ति।

३. सहकारी सम्बन्धी विद्यमान कानुनहरू संशोधन तथा एकीकरण गर्न आवश्यक विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृति।

४. बचत तथा ऋण सहकारी संस्थाको नियमन र सुपरिवेक्षणसम्बन्धी कानुनी व्यवस्था गर्न विधेयक तर्जुमाको सिद्धान्त स्वीकृत।

५. राष्ट्रिय सेवा दलसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न तयार गरिएको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति।

६. संघीय संसद्मा निम्न प्रतिस्थापन विधेयकहरू पेश गर्न स्वीकृति:

सहकारी ऐन, २०७४ संशोधन विधेयक
सार्वजनिक खरिद ऐन, २०६३ संशोधन विधेयक
सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण ऐन, २०६४ संशोधन विधेयक
स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी नेपाल ऐन संशोधन विधेयक