काठमाडौं । आगामी असार ११ गते बिहान ११ बजे बस्ने गरी  प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
आज बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गरेपछि सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक ६ दिनपछि बस्ने गरि स्थगित गरेका हुन् । सरकारले संघीय संसद्को चालू अधिवेशन सुरु हुनु अगाडि ८ वटा अध्यादेश ल्याएको थियो ।

ती अध्यादेशहरू अधिवेशन सुरु भएकै दिन गत २८ वैशाखमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेश भएका थिए । यसमध्ये ४ वटा अध्यादेश आज बसेको प्रतिनिधिसभाले स्वीकृत गरेको हो ।

ad

संसद्को अधिवेशन नरहेका बेला सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ९तेस्रो संशोधन० अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पनि त्यसैबेला आएको थियो ।

यसमध्ये सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश शुक्रबार प्रतिनिधिसभाबाट स्वीकृत भएको हो ।