
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आसन्न प्रथम महाधिवेशनबाट सभापति पदमा रवि लामिछाने निर्विरोध बन्ने सम्भावना देखिए पनि अन्य पदाधिकारीहरुका आकांक्षीहरु भने प्रशस्तै देखिएका छन् ।
रास्वपाको प्रस्तावित विधान अनुसार १६ सदस्यीय पदाधिकारीमा १० जना महाधिवेशनको हलबाट निर्वाचित हुनेछन् भने अन्य ६ जना सभापतिले मनोनित गर्ने व्यवस्था छ ।
रास्वपाको विधान अनुसार ३ जना उपसभापतिमध्ये १ जना महिला अनिवार्य हुनुपर्ने प्रावधान छ । उपसभापतिका लागि लीमा अधिकारी, इन्दिरा राना, समीक्षा बास्कोटा, सोविता गौतम, प्रतिभा रावल, सरिताश्री ज्ञवाली आकांक्षी देखिएका छन् ।
यस्तै स्वर्णिम वाग्ले, सुनिल लम्साल, गणेश कार्की, विराजभक्त श्रेष्ठ लगायत पनि उपसभापतिमा आकांक्षा व्यक्त गरिरहेका छन् । दुई महामन्त्रीका लागि आधा दर्जन बढीले दौडधूप शुरु गरेका छन् । हाल महामन्त्री रहेका कविन्द्र बुर्लाकोटी र भुपदेप शाह दोहोरिने चाहना राखेका छन् भने दीपक बोहोरा, विपिन आचार्य, मनिष झा, प्रमोद न्यौपाने पनि महामन्त्री बन्ने कसरतमा जुटेका छन् । १ महिला अनिवार्य रहेको ४ सदस्यीय महामन्त्रीका लागि पनि झण्डै १ दर्जन लागिपरेका छन् । खुलातर्फ प्रकाशचन्द्र परियार, रमेश प्रसाईं, सागर ढकाल, खगेन्द्र सुनार, असिम शाह, शिशिर खनालले आकांक्षी छन् भने ज्वाला संग्रौला, क्रान्तिशिखा ढकाल, कुसुम महर्जन सहमहामन्त्री बन्ने चाहना व्यक्त गरिरहेका छन् । यी पदाधिकारीबाहेक एक प्रवक्ता, तीन सह–प्रवक्ता, एक कोषाध्यक्ष र एक सह–कोषाध्यक्ष सभापतिले मनोनीत गर्ने रास्वपाको विधानमा उल्लेख छ ।
रास्वपाको पहिलो महाधिवेशन यही असार ७, ८, ९ गते चितवन हुँदैछ । महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने रास्वपाले जनाएको छ ।










Facebook Comments