फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणका दोस्रो खेलहरूमा रोमाञ्चक प्रतिस्पर्धा भएका छन्, जहाँ क्यानडा र स्विट्जरल्यान्डले फराकिलो जित दर्ता गर्दा चेकिया र दक्षिण अफ्रिकाले भने अंक बाँडेका छन् । समूह ‘बी’ अन्तर्गतको खेलमा क्यानडाले कतारमाथि ६–० को गोल वर्षा गर्दै ऐतिहासिक जित निकालेको छ ।

भ्यानकुभरमा भएको खेलको पहिलो हाफमै क्यानडाले ३–० को अग्रता बनाएको थियो भने कतारका दुई खेलाडी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि कतार ९ खेलाडीमा सीमित भएको थियो । क्यानडाको जितमा जोनाथन डेभिडले सानदार ह्याट्रिक पूरा गरे भने साइल लारिन र नाथन सालिबाले एक–एक गोल थपे । खेलको ७५औँ मिनेटमा कतारका मोहम्मद अल मन्नाइले आत्मघाती गोल गर्न पुगेका थिए ।

ad

यो ऐतिहासिक जितसँगै क्यानडा समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ, यद्यपि खेलका दौरान आफ्ना स्टार खेलाडी इस्माइल कोने गम्भीर घाइते भएपछि क्यानडाको टोली र मुख्य प्रशिक्षक जेसी मार्स निकै चिन्तित देखिएका छन् ।

यसै समूह ‘बी’ को अर्को खेलमा स्विट्जरल्यान्डले बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै स्पष्ट ३ अंक जोडेको छ । अमेरिकाको लस एन्जलसस्थित सोफाइ स्टेडियममा भएको खेलको दोस्रो हाफमा गोलको वर्षा भएको थियो ।

 जोहान मान्जाम्बीले ७४औँ मिनेटमा गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ८०औँ मिनेटमा बोस्नियाका तारिक मुहारेमोभिकले रातो कार्ड पाएपछि बोस्निया १० खेलाडीमा समेटियो, जसको फाइदा उठाउँदै स्विट्जरल्यान्डले आक्रामक खेल खेल्यो ।

रुबेन वर्गासले ८४औँ र जोहानले ९०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को स्थितिमा पुर्‍याए । इन्जुरी समयमा बोस्नियाका एर्मिन माहमिकले एक सान्त्वना गोल फर्काए पनि खेलको अन्तिम क्षणमा पाएको पेनाल्टीलाई कप्तान ग्रानिट जाकाले गोलमा परिणत गर्दै स्विट्जरल्यान्डको ४–१ को जित सुनिश्चित गरे ।

यो जितसँगै २ खेलबाट ४ अंक जोडेको स्विट्जरल्यान्ड गोल अन्तरका आधारमा क्यानडाभन्दा पछि रहँदै तालिकाको दोस्रो स्थानमा छ । यसअघि पहिलो खेलमा स्विट्जरल्यान्ड र कतार तथा क्यानडा र बोस्नियाले १–१ को बराबरी खेलेका थिए ।

अर्कोतर्फ, समूह चरणको दोस्रो खेलमा चेकिया र दक्षिण अफ्रिका भने १–१ को बराबरीमा रोकिएका छन् । खेलको पहिलो हाफको पाँचौँ मिनेटमै अलेक्सजेन्डर सोज्काको पासमा मिखाइल सेड्लिकले उत्कृष्ट गोल गर्दै चेकियालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा दक्षिण अफ्रिकाले पुनरागमन गर्‍यो । खेलको ८१औँ मिनेटमा थियबो मोकानाको प्रहार चेकियाका प्याबेल सुलकको हातमा लागेपछि दक्षिण अफ्रिकाले पेनाल्टीको मौका पायो, जसलाई थिएबो मोनेकाले सहजै गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए । खेल बराबरीमा टुंगिएसँगै दुवै टोलीले १–१ अंक बाँडेका छन् । यसअघि भएको आफ्नो पहिलो खेलमा चेकिया दक्षिण कोरियासँग २–१ ले पराजित भएको थियो भने दक्षिण अफ्रिका मेक्सिकोसँग २–० ले स्तब्ध बनेको थियो ।