
काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाबीच सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा आयोजना हुने समर ओलम्पिक (LA28) को रणनीतिक तयारीका विषयमा छलफल भएको छ ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष अशोकरत्न बज्राचार्य र महासचिव राजिव श्रेष्ठसहितको पदाधिकारी टोली र एनआरएनए एनसीसी अमेरिकाका प्रतिनिधिहरूबीच खेलकुद विकासका विविध पक्षाबारे उच्चस्तरीय छलफल सम्पन्न भएको हो ।
छलफलमा एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सत्यन्द्र साह, सल्लाहकार टंक रेग्मी, प्रवक्ता सन्देश उप्रेती तथा नेपाल बक्सिङ सपोर्ट एसोसिएसनका अध्यक्ष दीपक न्यौपानेको सहभागिता रहेको थियो ।
छलफल आगामी ओलम्पिकमा नेपाली खेलाडीहरूको प्रदर्शनलाई सुदृढ बनाउने र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा देशको उपस्थितिलाई बलियो पार्न नेपाल ओलम्पिक कमिटी र गैरआवासीय नेपाली संघ अमेरिकाकोबीचमा कस्तो भूमिका हुनसक्छ भन्ने विषयमा केन्द्रित रहेको एनसीसी अमेरिकाका अध्यक्ष सत्यन्द्र साहले जानकारी दिए ।
सन् २०२८ को ओलम्पिकलाई लक्षित गरी नेपाली खेलाडीहरूको चौतर्फी विकास र उनीहरूका लागि अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण अवसरहरू खोज्ने बारे गहन छलफल भएको एनओसी महासचिव राजिव श्रेष्ठले बताए । नेपाली खेलकुद क्षेत्र र खेलाडीहरूलाई थप सुदृढ बनाउन आवश्यक पर्ने आर्थिक तथा प्राविधिक स्रोत साधनको परिचालनमा प्रवासी नेपालीहरूको भूमिकाबारे मार्गचित्र तयार गर्ने विषयमा समेत संवाद भएको श्रेष्ठले जानकारी दिए ।
'एलए२८' को यात्रामा नेपाली खेलाडीहरूलाई हरसम्भव सहयोग पुर्याउन एनओसी र एनआरएनए अमेरिकाबीचको सहकार्यलाई अझ मजबुत र प्रभावकारी बनाउने प्रतिबद्धता बैठकमा व्यक्त गरिएको छ । लस एन्जलस ओलम्पिक नेपाली खेलाडीहरूका लागि विशेष अवसर हुनसक्ने भन्दै अमेरिकामा रहेका नेपाली संघ-संस्थाहरूको समन्वय र सहयोगले खेलाडीहरूको मनोबल र तयारीमा ठूलो टेवा पुग्ने विश्वास बैठकमा सहभागी पदाधिकारीहरूले व्यक्त गरेका छन् ।










Facebook Comments