काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कार्यगत एकताको प्रस्ताव अघि सारेका छन्।

दुई नेताबीच हालै भएको भेटवार्तामा ओलीले तत्काल पार्टी एकता सम्भव नभए पनि चरणबद्ध रूपमा कार्यगत सहकार्य गरेर अघि बढ्न सकिने प्रस्ताव गरेका हुन्। 

ad

सोही छलफलमा उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकासहितको नेतृत्व संरचना स्वीकार गर्न आफू तयार रहेको संकेतसमेत दिएको स्रोतको दाबी छ।

स्रोतका अनुसार ३१ जेठमा प्रचण्ड निवासमै भएको भेटमा ओलीले वामपन्थी शक्तिहरूबीच साझा कार्यसूची बनाएर सहकार्य गर्नुपर्ने धारणा राखेका थिए। पछिल्ला दिनमा दुई नेताबीच संवाद र भेटघाट निरन्तर बढिरहेको बताइन्छ।

ओलीले प्रचण्डसँगको छलफलमा पूर्ण पार्टी एकता तत्काल सम्भव नभए पनि संगठनात्मक सहकार्य, साझा राजनीतिक अभियान र समन्वयमार्फत अघि बढ्न सकिने विकल्प अघि सारेका छन्।

उनले विगतको एकतामा देखिएको संगठनात्मक असन्तुलन र विश्वासको कमीले समस्या उत्पन्न भएको भन्दै अहिले चरणबद्ध रूपमा कार्यगत एकता उपयुक्त हुने तर्क गरेका थिए।

प्रस्तावित मोडेल आगामी निर्वाचनसम्म केन्द्रित हुने प्रारम्भिक संरचनामा आधारित रहेको स्रोतहरूको भनाइ छ।

छलफलका क्रममा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत समेटेर जाने राजनीतिक संरचना बन्ने अवस्था आए त्यसलाई स्वीकार गर्न आफू तयार रहेको संकेत गरेको बताइन्छ।

ओलीको पछिल्लो पहललाई एमालेभित्रको आन्तरिक शक्ति समीकरणसँग पनि जोडेर हेरिएको छ। पार्टीभित्र नेतृत्व पुनर्गठन र वैकल्पिक शक्ति केन्द्र निर्माणको चर्चा चलिरहेका बेला ओलीले सहकार्यको प्रस्ताव अघि सारेका हुन्।

वरिष्ठ नेताहरू विष्णु पौडेल, शंकर पोखरेल र योगेश भट्टराईलगायत नेताहरू विभिन्न धारमा देखिन थालेपछि अध्यक्ष ओली रणनीतिक रूपमा वाम सहकार्यतर्फ अघि बढेको विश्लेषण गरिएको छ।

प्रचण्डले भने ओलीको प्रस्तावबारे हालसम्म स्पष्ट निर्णय दिएका छैनन्। उनी निकट स्रोतका अनुसार उनी तत्काल समर्थन वा अस्वीकारको अवस्थामा छैनन्।

उनले नेकपाको संगठनात्मक सुदृढीकरण र आन्तरिक व्यवस्थापनलाई प्राथमिकतामा राख्दै त्यसपछि मात्रै वाम सहकार्य वा एकताको विषयमा ठोस निर्णय गर्ने तयारी गरेको बताइन्छ।

ओली–प्रचण्ड संवादलाई वाम राजनीतिक पुनर्संयोजनको संकेतका रूपमा हेरिएको छ। विद्यादेवी भण्डारीको भूमिकासहितको नेतृत्व संरचना स्वीकार गर्न ओली तयार रहेको संकेतले यस सम्भावनालाई थप चासोको विषय बनाएको छ।