
काठमाडौं । रुस–युक्रेन युद्ध जारी रहँदा युक्रेन ले रुसी राजधानी मस्को मा ठूलो मात्रामा ड्रोन आक्रमण गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो आक्रमण युद्ध सुरु भएयताकै सबैभन्दा ठूलोमध्ये एक मानिएको छ।
रिपोर्टअनुसार करिब २०० ड्रोन प्रयोग गरी मस्कोका विभिन्न संवेदनशील स्थानलाई लक्षित गरिएको थियो। ती आक्रमणपछि केही क्षेत्रमा आगलागी भएको, धुवाँको मुस्लो देखिएको र आपतकालीन उद्धार टोली परिचालन गरिएको जनाइएको छ।
मस्को का क्षेत्रीय गभर्नर आन्द्रे भोरोब्योभका अनुसार आक्रमणका क्रममा कम्तीमा १७ जना घाइते भएका छन्। त्यस्तै, रुसी रक्षा मन्त्रालयले पछिल्ला २४ घण्टामा देशभर एक हजारभन्दा बढी युक्रेनी ड्रोन र चारवटा क्रुज मिसाइल खसालिएको दाबी गरेको छ।
यसैबीच, रूसको दक्षिणी रोस्तोभ क्षेत्रमा रहेको एक तेल भण्डारमा पनि आक्रमण भएको र त्यस घटनामा एक जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ।
‘१५ जुनको बदला’ भन्दै जेलेन्स्कीको प्रतिक्रिया
आक्रमणपछि भोलोदिमिर जेलेन्स्की ले प्रतिक्रिया दिँदै यो कारबाही १५ जुनमा रुसले युक्रेनमाथि गरेको आक्रमणको जवाफी कदम भएको बताएका छन्।
उनका अनुसार १५ जुनमा भएको रुसी आक्रमणमा युक्रेनको राजधानी किभमा चारसहित देशभर नौ जनाको मृत्यु भएको थियो।
जेलेन्स्कीले भनेका छन्, “यदि युक्रेन जल्छ भने मस्को पनि सुरक्षित रहँदैन। युक्रेन हरेक आक्रमणको जवाफ दिन्छ, चुपचाप बस्दैन।”
उनले युद्ध अन्त्यका लागि कूटनीतिक पहल आवश्यक रहेको उल्लेख गर्दै रुसलाई तत्काल युद्ध रोक्ने दिशामा कदम चाल्न आग्रह गरेका छन्।
जेलेन्स्कीले युक्रेनले युद्ध नचाहेको दोहोर्याउँदै आक्रमण जारी रहे प्रतिकार जारी रहने चेतावनीसमेत दिएका छन्।







Facebook Comments