काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी महाधिवेशनको मिति तय गर्दै विस्तृत कार्यतालिका पारित गरेको छ।

धुम्बाराहीस्थित पार्टी कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो।

ad

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन समितिले तयार पारेको नियमावली र निर्देशिकामा आवश्यक परिमार्जन गर्दै पारित गरिएको जानकारी दिए।

उनका अनुसार महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न केन्द्रीय कार्यसम्पादन समितिबाट पारित प्रस्तावहरू अब शुक्रबारदेखि बस्ने केन्द्रीय समितिको बैठकमा छलफलका लागि पेश गरिनेछ।

अध्यक्ष लिङ्देनले केन्द्रीय समितिले ती प्रस्तावमाथि विस्तृत छलफल गरी अन्तिम निर्णय लिने बताए।

महाधिवेशन तयारीअन्तर्गत भदौ मसान्तभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्ने र असोज मसान्तसम्म सक्रिय सदस्यता वितरणको काम टुंग्याउने प्रस्ताव पनि बैठकले अघि सारेको छ।

पार्टीले महाधिवेशनलाई समयबद्ध र चरणबद्ध रूपमा सम्पन्न गर्न स्पष्ट कार्ययोजना तय गरिएको जनाएको छ।