
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले सक्रिय राजनीतिक जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्।
आज सार्वजनिक गरिएको विज्ञप्तिमार्फत उनले पार्टीको संगठित सक्रिय भूमिकाबाट बिदा लिँदै अब साधारण सदस्यको रूपमा मात्र रहने जानकारी दिएका हुन्।
महराले आफ्नो निर्णय कुनै असन्तुष्टि, वैचारिक मतभेद वा गुनासोका कारण नभएको स्पष्ट गर्दै स्वास्थ्य अवस्थाका कारण बाध्य भएर यस्तो कदम चाल्नुपरेको उल्लेख गरेका छन्।
विज्ञप्तिमा उनले भनेका छन्, 'आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराउँछु। यो निर्णय कुनै असन्तुष्टि वा वैचारिक विचलन होइन, स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यता हो।'
लामो समयदेखि पार्टी जीवन, आन्दोलन र राज्य व्यवस्थापनमा सक्रिय रहँदै आएका महराले आफ्नो राजनीतिक यात्रालाई स्मरण गर्दै पार्टीप्रतिको प्रतिबद्धता भने अन्त्य नभएको बताएका छन्।
उनका अनुसार पार्टी जीवनमा बिताएका वर्ष, सहकर्मीहरूसँगको सम्बन्ध र देश तथा जनताप्रतिको प्रतिबद्धता जीवनभर कायम रहनेछ।
उनले थप उल्लेख गरेका छन्, 'मेरो शरीर कमजोर भए पनि देशप्रतिको चिन्ता र जनताप्रतिको माया अन्तिम श्वाससम्म रहिरहनेछ।'
स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै महराले आफू केही वर्षयता एट्रोफी सम्बन्धी रोगबाट प्रभावित रहेको बताएका छन्। नसाहरू र मांसपेशी क्रमशः कमजोर हुँदै जाने यस रोगका कारण नियमित उपचार, औषधि सेवन र थेरापी गरिरहे पनि अपेक्षित सुधार हुन नसकेको उनले जनाएका छन्।
स्वास्थ्य चुनौतीका कारण पार्टीका दैनिक गतिविधि र जिम्मेवारीमा पहिलाजस्तै सक्रिय भूमिका निर्वाह गर्न कठिन हुँदै गएको निष्कर्षसहित उनले सक्रिय राजनीतिबाट अलग हुने निर्णय लिएका हुन्।










Facebook Comments