पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटमा अंकगत त्रुटि देखिएपछि आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रदेशसभामा औपचारिक रूपमा माफी मागेका छन्।

असार १ गते प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेपछि केही दिनका लागि स्थगित गरिएको बैठक असार ४ गते पुनः बसेको थियो। सोही बैठकमा बजेटमाथिको छलफल सुरु हुनुअघि मन्त्री शेरचनले त्रुटिबारे सदनलाई जानकारी दिँदै माफी मागेका हुन्।

ad

बजेट वक्तव्यमा पर्यटन तथा उद्योग मन्त्रालयका लागि विनियोजन गरिएको रकम उल्लेख गर्दा भिन्नता आएको पाइएको हो। बजेट भाषण पढ्ने क्रममा उक्त मन्त्रालयका लागि करिब दुई अर्ब रुपैयाँ विनियोजन गरिएको भनिए पनि वास्तविक विनियोजन ९२ करोड ४९ लाख रुपैयाँ रहेको स्पष्ट गरिएको छ।

बुँदा नम्बर ५६ मा पनि रकम गलत उल्लेख भएको र त्यसलाई प्राविधिक त्रुटिका रूपमा स्वीकार गरिएको मन्त्री शेरचनले बताए। बजेटको अनुसूचीमा भने सही रकम नै उल्लेख भएको पाइएको छ।

मुख्यमन्त्रीस्तरमा भएको छलफलपछि त्रुटि स्वीकार गर्दै प्रदेशसभामै माफी माग्ने निर्णय भएको र सोहीअनुसार मन्त्री शेरचनले सदनमा प्रस्ट्याएका हुन्।

“मन्त्रालयको तर्फबाट भएको प्राविधिक कमजोरीप्रति म क्षमाप्रार्थी छु,” उनले भने।

उनले बजेटमाथिको छलफल अघि बढाउन प्रस्तावसमेत राख्दै आगामी दिनमा यस्ता प्राविधिक त्रुटि दोहोरिन नदिने प्रतिबद्धता जनाएका छन्।

यो घटनालाई प्रदेश सरकारको बजेट प्रक्रियामा भएको सामान्य प्राविधिक कमजोरीका रूपमा लिइएको छ।