
काठमाडौं । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान र चिया बगानमा कार्यरत श्रमिकका समस्या तत्काल समाधान गर्न सरकारलाई कडा निर्देशन दिएको छ।
बिहीबार बसेको समिति बैठकले चिया क्षेत्रसँग सम्बन्धित दीर्घकालीन समस्या समाधानमा ढिलाइ भइरहेको भन्दै तत्काल ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको हो।
समिति सभापति कृष्णप्रसाद पौडेलले चिया उद्योगमा देखिएको समस्या समाधानलाई प्राथमिकतामा राख्दै किसान र श्रमिक दुवै पक्षको हित सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएका छन्।
उनले चिया मात्रै होइन, अलैँची, सुपारी, बेसार, अदुवा, कफी लगायतका अन्य नगदेबालीमा पनि बजार अभाव र मूल्य अस्थिरता प्रमुख समस्या बनेको उल्लेख गरे। यस्ता बालीका लागि दीर्घकालीन बजार व्यवस्थापन र मूल्य निर्धारण प्रणाली आवश्यक रहेको उनको भनाइ छ।
सभापति पौडेलले बैठकमा भने, “चिया किसान र श्रमिकको समस्या तत्काल समाधान गर्न सरकारलाई आग्रह गर्दछु। यो समितिको तर्फबाट निर्देशन पनि हो। साथै अन्य नगदेबालीको बजार व्यवस्थापनका लागि आवश्यक कानुनी संरचना निर्माणमा पनि सरकार अघि बढोस्।”
हालै इलामसहित देशका विभिन्न चिया उत्पादक क्षेत्रका उद्योगीहरूले निर्यातमा समस्या देखिएको भन्दै उद्योग बन्द गरेका छन्। उद्योग ठप्प हुँदा चिया बगानमा निर्भर हजारौँ किसान र श्रमिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
समितिले यस अवस्थालाई गम्भीर रूपमा लिँदै चिया उद्योग पुनः सञ्चालन र प्रभावित श्रमिकको राहतका लागि तत्काल पहल गर्न सरकारलाई आग्रह गरेको छ।










Facebook Comments