
थोमस टुचेलको प्रशिक्षणमा रहेको इङ्गल्यान्डले विश्वकप २०२६ को समूह ‘एल’ अन्तर्गत आफ्नो पहिलो खेलमा क्रोएसियामाथि ४–२ को रोमाञ्चक र शानदार जित दर्ता गर्दै सुखद सुरुवात गरेको छ । डालसस्थित एटी एन्ड टी स्टेडियममा बुधबार राति भएको यस खेलमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा देखिए पनि दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै इङ्गल्यान्डले स्पष्ट ३ अंक जोडेको हो । खेलको सुरुवाती क्षणदेखि नै नाटकिय मोडहरू देखिएका थिए । जहाँ १२औँ मिनेटमा इङ्गल्यान्डका कप्तान ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए ।
उनको पहिलो प्रहार क्रोएसियाली गोलरक्षक डोमिनिक लिभाकोभिचले रोके पनि ‘रिटेक’ को निर्णयपछि केनले कुनै गल्ती नगरी बललाई जाली चुमाएका थिए । तर, ३६औँ मिनेटमा क्रोएसियाका मार्टिन बातुरिनाले बक्स बाहिरबाट उत्कृष्ट कर्लिङ सट प्रहार गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि ४२औँ मिनेटमा डेलान राइसको कर्नरमा केनले अनमार्क हेड गर्दै इङ्गल्यान्डलाई पुनः २–१ को अग्रता दिलाए पनि पहिलो हाफको इन्जुरी समयमा क्रोएसियाका पेटार मुसाले उत्कृष्ट मुभलाई गोलमा परिणत गरेपछि पहिलो हाफ २–२ को रोमाञ्चक बराबरीमा सकिएको थियो।
दोस्रो हाफ सुरु भएको दुई मिनेटमै (४७औँ मिनेट) जुड बेलिङ्घमले इङ्गल्यान्डका लागि निर्णायक भूमिका खेले । इलियट एन्डरसनको पासलाई नियन्त्रणमा लिँदै बेलिङ्घमले क्रोएसियाली डिफेन्डर मारियो पासालिचलाई छक्याएर उत्कृष्ट लो–फिनिस गरेपछि इङ्गल्यान्डले खेलमा तेस्रो पटक अग्रता लियो । खेलको अन्त्यतिर क्रोएसियाली गोलरक्षक लिभाकोभिचले ५ मिनेटभित्र ६ वटा सानदार बचाउ गर्दै क्रोएसियालाई खेलमा टिकाइराख्ने प्रयास गरे पनि ८५औँ मिनेटमा बेन्चबाट मैदान प्रवेश गरेका म्यार्कस रासफोर्डले बुकायो साकाको पासमा चौथो गोल गर्दै इङ्गल्यान्डको जित सुनिश्चित गरे ।
यस खेलमा दुई गोल गरेसँगै ३२ वर्षीय ह्यारी केनले इङ्गल्यान्डका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने ग्यारी लिनेकरको १० गोलको कीर्तिमान बराबरी गरेका छन् भने डेभिड बेकह्याम्पछि तीनवटा फरक विश्वकप (२०१८, २०२२, २०२६) मा गोल गर्ने दोस्रो इङ्ग्लिस खेलाडी बनेका छन्।
खेलपछि प्रतिक्रिया दिँदै मुख्य प्रशिक्षक थोमस टुचेलले पहिलो हाफमा टोली केही हतोत्साहित र रक्षात्मक देखिए पनि हाफ-टाइममा खेलाडीहरूलाई स्वाभाविक र बहादुरीपूर्ण खेल खेल्न आग्रह गरेपछि दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन भएको बताए ।
अर्कोतर्फ, क्रोएसियाका भेट्रान मिडफिल्डर लुका मोड्रिच ४० वर्षको उमेरमा विश्वकप खेल्ने तेस्रो आउटफिल्ड खेलाडी बन्दै इतिहास रचे पनि खेलमा उनको जादु चल्न सकेन र ५७औँ मिनेटमा उनी मैदानबाट बाहिरिए । यस जितसँगै समूह ‘एल’ मा बलियो स्थितिमा पुगेको इङ्गल्यान्डले आफ्नो अर्को खेल जुन २३ मा बोस्टनमा घानाविरुद्ध खेल्नेछ भने सोही दिन क्रोएसियाले टोरन्टोमा पानामाको सामना गर्नेछ।










Facebook Comments