विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘के’ को आफ्नो पहिलो खेलमा उपाधि दाबेदार मानिएको पोर्चुगल अफ्रिकन टोली कंगोसँग १–१ गोलको बराबरीमा रोकिएको छ। ह्युस्टन स्टेडियममा ६८ हजार ७७७ दर्शकमाझ पोर्चुगलले उत्कृष्ट लयसहित गतिलो सुरुवात गर्ने अपेक्षा गरिए पनि मैदानमा सोचेजस्तो प्रदर्शन देखिन सकेन।

पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले छैटौँ पटक विश्वकप खेल्दै मैदानमा पूरै समय बिताए पनि गोल गर्न भने सकेनन्। खेलको छैटौँ मिनेटमा पेड्रो नेटोको क्रसमा जाओ नेभेसले उत्कृष्ट हेड गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए। प्रारम्भिक गोलपछि पोर्चुगलले लामो समयसम्म खेल नियन्त्रणमा राखे पनि दोस्रो गोल थप्न नसक्दा टोली बिस्तारै दबाबमा पर्यो। कप्तान रोनाल्डो आफैँ पनि केही उत्कृष्ट मौकामा गोल गर्न चुकेपछि पोर्चुगलले अग्रता बढाउने अवसर गुमाएको थियो।

ad

सुरुवाती अग्रताका बाबजुद पोर्चुगलले त्यसलाई जोगाउन नसक्दा महत्वपूर्ण तीन अंक बटुल्न असफल भयो। पहिलो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा डीआर कंगोले ऐतिहासिक क्षण रच्यो, जहाँ अर्थर मसौकाको उत्कृष्ट क्रसलाई योआने विसाले हेडमार्फत गोलमा परिणत गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। ५२ वर्षपछि विश्वकपमा पुनरागमन गरेको कंगोका लागि यो गोल र नतिजा ऐतिहासिक उपलब्धि बन्यो, जसका कारण उसले विश्वकप इतिहासमा आफ्नो पहिलो अंक जोड्न सफल भएको छ।

दोस्रो हाफमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नान्डेस लगायतका खेलाडीहरूले लगातार दबाब सिर्जना गर्दै निरन्तर प्रयास गरे पनि कंगोका गोलरक्षक लियोनेल एमपासीले उत्कृष्ट बचाउ गर्दै पोर्चुगलको जितको बाटो छेकिदिए। यो अप्रत्याशित नतिजासँगै विश्वकप जित्ने लक्ष्य बोकेको पोर्चुगलमाथि समूह चरणका बाँकी खेलमा दबाब बढेको छ भने कंगोले एक बलियो टोलीलाई रोक्दै नयाँ आत्मविश्वास हासिल गरेको छ।