इलाम — नेपाली चिया क्षेत्र यतिबेला गम्भीर संकटको सामना गरिरहेको छ। मुख्य उत्पादन सिजनकै बीचमा इलामका अधिकांश चिया उद्योग बन्द भएपछि किसानले उत्पादन गरेको हरियो पत्ती बारीमै खेर जाने अवस्था सिर्जना भएको छ। उद्योग सञ्चालन ठप्प हुँदा हजारौं किसान, मजदुर र व्यवसायी प्रत्यक्ष प्रभावित बनेका छन्।

इलामका चियाबारीहरूमा यतिबेला उत्पादन प्रशस्त छ। निरन्तर वर्षा र अनुकूल मौसमका कारण चियाका कोमल मुना राम्रोसँग बढेका छन्। तर उद्योग बन्द भएपछि किसानहरूले पत्ती टिप्नै छाड्न थालेका छन्। सामान्य अवस्थामा वर्षकै सबैभन्दा बढी आम्दानी हुने यही समय अहिले किसानका लागि चिन्ताको कारण बनेको छ।

ad

सूर्योदय नगरपालिका–७ का किसान डम्बर कटुवालका अनुसार उद्योगले हरियो पत्ती खरिद गर्न नसकेपछि चियाबारीमा उत्पादन थन्किएको छ। मुख्य सिजनमै पत्ती खेर जाने जोखिम बढ्दा किसानहरू आर्थिक रूपमा ठूलो मारमा पर्ने देखिएको छ।

चिया उत्पादकहरूको संगठनका अनुसार इलामका ७३ वटा उद्योग असारको सुरुवातदेखि नै बन्द छन् भने झापाका उद्योगहरू पनि बन्द हुने चरणमा पुगेका छन्। उद्योग बन्द भएसँगै दैनिक उत्पादन हुने ठूलो परिमाणको हरियो पत्ती प्रशोधनविहीन बन्न पुगेको छ।

उद्योगीहरूले भारतीय बजारमा देखिएको नयाँ अवरोधलाई संकटको मुख्य कारण बताएका छन्। उनीहरूका अनुसार भारतीय पक्षले नेपाली चियाको गुणस्तर परीक्षण प्रक्रिया थप जटिल बनाएपछि निर्यात प्रभावित भएको छ। चिया भारत पुगेपछि लामो समयसम्म गोदाममा रोक्ने, नमूना परीक्षण गर्ने र प्रतिवेदन नआएसम्म बिक्री रोक्ने व्यवस्थाले व्यापारिक चक्र अवरुद्ध भएको उद्योगीहरूको भनाइ छ।

यसका कारण ठूलो परिमाणमा तयारी चिया भारतीय गोदाम तथा नेपालस्थित उद्योगमै बिक्रीविहीन अवस्थामा थन्किएको बताइएको छ। निर्यातबाट रकम प्राप्त हुन नसक्दा उद्योगीहरू उत्पादन निरन्तरता दिन असमर्थ भएका छन्।

चिया क्षेत्रका सरोकारवालाहरूले सरकारको प्रभावकारी पहल अभावले समस्या झन् गम्भीर बन्दै गएको आरोप लगाएका छन्। उनीहरूका अनुसार प्रारम्भिक चरणदेखि नै कूटनीतिक र व्यापारिक पहल भएको भए उद्योग बन्द गर्नुपर्ने अवस्था आउने थिएन।

संकटको असर किसानमा मात्र सीमित छैन। चिया टिप्ने, बोक्ने, प्रशोधन गर्ने र प्याकिङमा संलग्न हजारौं मजदुरको आम्दानी पनि रोकिएको छ। दैनिक ज्यालामा निर्भर रहेका श्रमिकहरू रोजगारी गुम्ने त्रासमा छन्।

चिया क्षेत्रसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका करिब ६५ हजार रोजगारी जोखिममा परेको श्रमिक संगठनहरूको दाबी छ। उद्योगहरू लामो समय बन्द रहे उत्पादन, आम्दानी र रोजगारीमा गम्भीर असर पर्ने उनीहरूको चेतावनी छ।

यसैबीच, चिया निर्यातमा देखिएको अवरोधबारे संघीय संसद्मा समेत चासो व्यक्त गरिएको छ। सांसदहरूले सरकारलाई तत्काल कूटनीतिक पहल गरी निर्यात सहज बनाउन र दीर्घकालीन रूपमा भारतीय बजारमा निर्भरता घटाएर नयाँ अन्तर्राष्ट्रिय बजार खोज्न आग्रह गरेका छन्।

नेपालमा हाल २० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा चिया खेती हुँदै आएको छ। वार्षिक अर्बौं रुपैयाँको विदेशी मुद्रा आर्जन गर्ने यो क्षेत्र अहिले बजार, निर्यात र उत्पादन व्यवस्थापनसम्बन्धी समस्याका कारण गम्भीर दबाबमा परेको छ।