
काठमाडौं । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरणको प्रक्रिया यही असारको तेस्रो सातादेखि सुरु गर्ने तयारी गरेको जनाएको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधिसभामा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै यस्तो जानकारी दिएकी हुन्।
आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको उत्तर दिने क्रममा मन्त्री रावलले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान सरकारको प्राथमिकतामा रहेको बताइन्। उनले आवश्यक प्रक्रिया अगाडि बढिसकेको उल्लेख गर्दै लालपुर्जा वितरणको काम छिट्टै सुरु हुने स्पष्ट पारिन्।
संसद् बैठकमा सुकुमवासी व्यवस्थापनको विषय उठाउँदै सांसद हर्क साम्पाङले विशेषगरी काठमाडौंका सुकुमवासीहरूको पुनर्स्थापनासम्बन्धी प्रश्न गरेका थिए। उनले होल्डिङ सेन्टरमा राखिएका परिवारहरूको व्यवस्थापन प्रभावकारी नभएको गुनासो आएको उल्लेख गर्दै सम्भव भएसम्म उनीहरू बसोबास गरिरहेको स्थानमै समाधान खोज्न आग्रह गरेका थिए।
जवाफमा मन्त्री रावलले सरकारले सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि काम गरिरहेको बताइन्। उनका अनुसार भूमिसम्बन्धी विषयलाई व्यवस्थित गर्न हाल विशेष संरचनामार्फत आवश्यक अध्ययन, तथ्याङ्क सङ्कलन र वितरण प्रक्रिया अघि बढाइएको छ।
सरकारले विगतमा भूमि आयोगमार्फत सञ्चालन हुँदै आएको कार्यक्रमलाई नयाँ ढाँचामा निरन्तरता दिँदै भूमिहीन नागरिकलाई कानुनी स्वामित्व प्रदान गर्ने लक्ष्य लिएको छ। लालपुर्जा वितरण सुरु भएसँगै लामो समयदेखि भूमि अधिकारको प्रतीक्षामा रहेका हजारौँ परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।









Facebook Comments