काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी र दिगो बनाउन स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाएको जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा स्वास्थ्य बीमा व्यवस्थामा सुधारका लागि कानुनी तथा संरचनागत परिवर्तन आवश्यक रहेको बताइन्।

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले आधारभूत स्वास्थ्य सेवालाई स्वास्थ्य बीमा कार्यक्रमबाट अलग गर्ने विषयमा समेत सरकार गम्भीर रूपमा अघि बढिरहेको जानकारी दिइन्। उनका अनुसार बीमा प्रणालीलाई व्यवस्थित, समावेशी र प्रभावकारी बनाउन विभिन्न सुधारका उपायहरूबारे अध्ययन र परामर्श भइरहेको छ।

ad

मन्त्री मेहताले सबै संगठित क्षेत्रमा कार्यरत नागरिकका लागि अनिवार्य स्वास्थ्य बीमा लागू गर्ने अवधारणामाथि पनि काम भइरहेको बताइन्। साथै सामाजिक स्वास्थ्य सुरक्षा कोषअन्तर्गत सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमलाई विद्यमान स्वास्थ्य बीमा संरचनासँग एकीकृत गर्ने विषयमा समेत आवश्यक पहल भइरहेको उनको भनाइ थियो।

स्वास्थ्य बीमा ऐन संशोधनका क्रममा सांसद, सरोकारवाला निकाय तथा विज्ञहरूबाट प्राप्त हुने सुझावलाई महत्व दिइने उल्लेख गर्दै उनले सुधार प्रक्रियामा सबै पक्षको सहयोग आवश्यक रहेको बताइन्।

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम तथा बजेटले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको दाबी गर्दै मन्त्री मेहताले विगतको तुलनामा स्वास्थ्य सेवाको विस्तार, पहुँच र गुणस्तर सुधारका लागि थप स्रोत सुनिश्चित गरिएको जानकारी दिइन्।

उनले मन्त्रालयले सरकारको नीति तथा बजेटअनुसार वार्षिक कार्ययोजना तयार गरिसकेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रलाई नागरिकको आधारभूत आवश्यकता र राष्ट्रिय समृद्धिको प्रमुख आधारका रूपमा अघि बढाइने बताइन्।