काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र नेतृत्वको कार्यशैलीलाई लिएर असन्तुष्टिका स्वर तीव्र बन्न थालेका छन्। पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ३६ बुँदे लिखित सुझाव तथा असन्तुष्टि पत्र बुझाउँदै वर्तमान नेतृत्वमाथि गम्भीर प्रश्न उठाएका छन्।

खनालले पार्टी नेतृत्वले एकता प्रक्रियालाई प्रभावकारी रूपमा अगाडि बढाउन नसकेको, वैचारिक स्पष्टता दिन असफल भएको तथा संगठनात्मक पुनर्गठनमा अपेक्षित प्रगति गर्न नसकेको आरोप लगाएका छन्। उनले पार्टीको अन्तरिम विधानलाई समेत आलोचना गर्दै त्यसले क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको आधार तयार गर्न नसक्ने दाबी गरेका छन्।

ad

पत्रमा पार्टी एकताको घोषणा भएको महिनौँ बितिसक्दा पनि संगठनात्मक एकीकरण अपूर्ण रहेको, निर्वाचनमा अपेक्षाअनुसार परिणाम हासिल गर्न नसकिएको तथा बदलिएको राजनीतिक परिस्थितिबारे नेतृत्वले कुनै स्पष्ट रणनीति प्रस्तुत गर्न नसकेको उल्लेख गरिएको छ।

खनालले पार्टीभित्र निराशा, निष्क्रियता र पलायनवादी प्रवृत्ति बढ्दै गएको भन्दै नेतृत्वप्रति कार्यकर्ता र आमजनताको विश्वास कमजोर बन्दै गएको टिप्पणी गरेका छन्। उनले वर्तमान नेतृत्वप्रति आकर्षण र भरोसा घटेको निष्कर्ष निकाल्दै संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालले पदत्याग गरी विशेष बैठकमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

पत्रमा खनालले विगतको नेकपा एकीकरण प्रक्रियासमेत स्मरण गराएका छन्। एमाले र माओवादी केन्द्रबीच भएको एकीकरणपछि पार्टी दर्ताका क्रममा नेतृत्वले गरेको निर्णयलाई उनले गम्भीर राजनीतिक त्रुटिका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार पहिले नै दर्ता भइसकेको नाममा नयाँ पार्टी दर्ता गराउने निर्णयले पछि पार्टीलाई कानुनी र राजनीतिक जटिलतामा पुर्‍याएको थियो।

खनालले उक्त निर्णयको जिम्मेवारी तत्कालीन शीर्ष नेतृत्वले नै लिनुपर्ने उल्लेख गर्दै साना कमजोरीले समेत ठूलो राजनीतिक उपलब्धि संकटमा पर्न सक्ने चेतावनी दिएका छन्। उनको पत्रलाई पार्टीभित्र नेतृत्वको कार्यदिशा, संगठनात्मक अवस्था र भावी रणनीतिमाथि उठाइएको गम्भीर प्रश्नका रूपमा हेरिएको छ।